काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण प्रहरीलाई मात्र नभै कञ्चरपुरकै गृहमन्त्री रमेश लेखकलाई नै यतिबेला ‘गलपासो’ बन्नपुगेको छ । बलात्कारपछि हत्या गरिएकी पन्त कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी बालिका थिइन् ।
त्यो दुर्दान्त घटना भएको स्थान कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– ३ मा पर्दछ । जुन गृहमन्त्री लेखकको गृहजिल्ला मात्र नभै निर्वाचन क्षेत्र पनि हो । यो घटना हुँदा नेपाली कांग्रेस प्रतिपक्षमा थियो । त्यतिबेला पन्तको हत्या घटनामा दोषीलाई कारबाहीका लागि लेखक सबैभन्दा कडा रूपमा प्रस्तुत भएका थिए ।
निर्मलाको न्यायका लागि भएको लामो आन्दोलनमा लेखक आफै सहभागी समेत भएका थिए । लेखकले त्यतिबेला हत्यारा समात्न मागसहित भएको पीडित परिवारको आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न कञ्चनपुरमा अस्पतालमै पुगेका थिए । यतिमात्र नभै पीडित शोकाकुल
परिवारलाई लगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत लेखकले नै भेटाएका थिए । उनले त्यतिबेला ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्दाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ । प्रहरी अधिकृतहरूलाई बर्खास्त गरेर मूल विषयवस्तुबाट पन्छिने प्रयत्न गर्न मिल्दैन’ भन्दै थिए ।
तत्कालिन सरकारमाथि कटु लाञ्छना लगाउँदै लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको र अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको आरोप समेत लगाएका थिए । जुन् अडियो रेकर्ड अहिले पनि सुन्न सकिन्छ ।
तिनै रमेश लेखक पन्त हत्या प्रकरणको ६ वर्षपछि गृहमन्त्रीको कुर्सीमा पुगे । तर उनै लेखकको बोली भने अहिले आनकातान फेरिएको छ । केही समयअघि धनगढी पुगेका गृहमन्त्री लेखक पन्त हत्याको बिषयमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिन हिच्किचाए ।
त्यहाँ गृहमन्त्री लेखकलाई पत्रकारले सोधे, ‘निर्मलाको गृहजिल्लाले अहिले गृहमन्त्री पाएको छ । न्याय पाउने कुरा कहाँ पुग्यो ?’ प्रश्नबाट पन्छिने शैलीमा लेखकले जवाफ दिए, ‘त्यो घटनाको अनुसन्धान भइरहेको छ । त्यसले निरन्तरता पाउँछ । थप अनुसन्धान पनि हुन्छ ।’ लेखक गृहमन्त्री भएपछि पीडित परिवारले हत्यारा समातिएला, पीडित परिवारले थोरै राहात पाउलान्, मृतक निर्मलाको आत्मालाई चिर शान्ति मिल्लला भन्ने आस गरेका थिए ।
वास्तवमा लेखक गृहमन्त्री हुँदा बालिका निर्मलाले न्याय नपाए कहिले पाउँछिन् भन्ने प्रश्न मडारिरहेको छ । पन्तको हत्या प्रकरणलाई टुंगोमा पु¥याउन हालसम्म गृहमन्त्री लेखक असक्षम छन् ।
आफ्नै गृहजिल्ला, आफ्नै निर्वाचन क्षेत्र, आफै पीडितलाई न्यायको लागि भएको आन्दोलनमा अगुवाई गरेको व्यक्ति, आफै गृहमन्त्री भएको बेला अहिलेसम्म एउटा अपराधी पक्राउ गर्न ‘वरको सिन्को पर नसरेको’ अवस्थामा आम नागरिकको सुरक्षामा उनले दिने गरेका भाषण बेफ्वाँकको खोक्रो गफका रुपमा हावामा उडेका छन् ।
निर्मलाको न्यायका लागि भएको पीडित परिवारको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकले अनाहकमा मृत्युवरण समेत गर्नुपरेको थियो । निर्मला हत्याको केही दिनपछि प्रहरीले घटनामा संलग्नताको आरोपमा एकजना मानसिक रोगीलाई पक्राउ गरी चरम यातना दिएर सावित गराएको नाटक मञ्चन गरियो । पक्राउ ति व्यक्तिको डीएनए नमिलेपछि छुटेका थिए ।
त्यही घटनाका कारण नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले अहिलेसम्म खेपिरहेको छ । अहिलेसम्म दर्जनौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि उपलब्धी हात लाग्यो शून्य बनेको छ ।
उतिबेला निर्मलाको भजाइनल स्वाबबाट निकालिएको भनिएको डीएनएको नमूनामाथि चिकित्सकको एउटा अध्ययन टोलीले नै प्रश्न उठाएको थियो । अहिलेसम्म ६ सय ५६ जनामाथि अनुसन्धान र १ सय ६४ जनाको डीएनए परीक्षण गरिएको भनिन्छ । तर, निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अनुसन्धान जारी छ भन्ने ओठे जवाफ बाहेक कुनै ठोस् प्रगति देखिएको छैन । बाहिर हेर्दा अनुसन्धानका लागि भनेर प्रदेश र जिल्लाका छुट्टाछुट्टै टोली बनाइएको छ । यता, सीआईबीको टोली पनि लागेको देखिन्छ ।
तर, गृहमन्त्री लेखकले कञ्चनपुरमै पुग्दा रातो मुख लगाएर हिंड्नुपर्ने लज्जाजनक अवस्था छ । अहिले विगततर्फ फर्केर हेर्दा र हाल लेखकले देखाएको क्रियाकलापले विगतमा देखाएको चरित्र ‘लास माथिको राजनीति’ थियो कि भन्ने आशंका उब्जीएको छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया बालिका थिइन् । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएकी उनी भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्टबाट तथ्य पुष्टी भइसकेको छ । पन्त हत्या प्रकरणमा अपराधी समात्न असफल नेपाल प्रहरीले अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न भन्दै केही दिनअघि नयाँ समिति बनायो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लोकलाज छोप्नकै लागि भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा अध्ययन समिति बनाएका छन् ।
थापा समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोडहरुलाई एकीकृत गर्न जिम्मेवारी दिइएको छ । १३ बर्षिय बालिका पन्तको हत्या प्रकरणमा अनुसन्धानका लागि विभिन्न समिति बनाएर जाँच गर्दा असफलता हात लागिरहेको अवस्थामा फेरी अर्को समिति थपिएको छ । पन्तको हत्यालाई लिएर अपराधी समात्न चुक्दा अनेकथरी भ्रामक सूचनाको खेती समेत चलिरहेको छ ।