काठमाडौँ । सत्तारुढ नेकपा एमालेले दरबारमार्गमा पोहोर मैला गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना गर्यो ।
गत शुक्रबार एमालेले जागरण सभाको नाममा शक्ति प्रदर्शन गरेको थियो । एमालेको सभालगत्तै महानगरले जरिबानाको पत्र पठाएको थियो । त्यसको दुई दिनपछि आइतबार पार्टीको मुख्यालयमै पत्र दिन गयो ।
नगर प्रहरीको दलबलसहित गएको महानगरको टोलीले पत्र दर्ता गर्न खोज्दा एमालेले मानेन । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले काठमाडौँ महानगरपालिकाका प्रमुखले स्टन्टबाजी गरेको भन्दै पत्र लिन अस्वीकार गरे ।
त्यसपछि महानगरले हुलाक र इमेलमार्फत उक्त पत्र एमालेलाई पठाएको छ । तर, एमालेले बालेनको पत्र प्राप्त नभएको दाबी गर्दै आएको छ । काठमाडौँ महानगरले जरिवाना तोकेसँगै एमालेका नेताहरू बालेनमाथि आक्रोश व्यक्त गरिरहेका छन् ।
महासचिव शंकर पोखरेलले त मेयर बालेनलाई परिचालितको संज्ञा समेत दिएका छन् । एमालेका अरू नेताहरू पनि बालेनमाथि खनिनुको साथै महानगरको जरिवाना नतिर्ने घोषणा गरिरहेका छन् ।
एमालेले कार्यक्रममा गरेको फोहोर संकलनको अवस्थाबारे सो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीलाई समेत महानगरपालिकाले सोधेको पाइएको छ ।
महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो ।
सो अनुसार मेनेजमेन्टले बुधबार जवाफी पत्र पठाएको महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले पुष्टि गरिन् । पत्रअनुसार मंसिर ८ गते दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको उल्लेख छ ।
पत्रमा सार्वजनिक संवेदनशीलता भएका स्थानहरूबाट कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको उल्लेख छ ।
जानकारी पत्रमा भनिएको छ, ‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ ।’
फोहोर संकलन कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौँ महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको समेत पत्रमा उल्लेख छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरूले ६।७५ टन क्षमताका ट्रिपरहरू प्रयोग गरी २ ट्रक फोहरमैला संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेका थिए’, पत्रमा भनिएको छ ।
त्यस क्षेत्रमा रहेका सीसीटीभी क्यामेराहरूको निगरानीमा पनि सरसफाइको कार्य सम्पन्न भएको भन्दै कम्पनीले फोहरमैलाको प्रकृति र अवस्था समेत यथार्थ रूपमा अभिलेखमा रहेको जनाएको छ ।