काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका उम्मेदवारहरूले मंसिर १६ मा हुने उपनिर्वाचन जितेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काम गर्न दबाब पुग्ने बताएका छन् ।
कीर्तिपुरमा आयोजना गरिएको चुनावी सभामा बोल्दै महामन्त्री शर्माले सँगै सरकारमा रहेको एमालेलाई काम गर्ने शैली बदल्नका लागि पनि कांग्रेसले उपनिर्वाचन जित्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी २०७९ को चुनावमा पनि पहिलो थियो, अहिलेको उपनिर्वाचनमा बलियो भयो भने सरकारले काम गर्ने शैली अझै बदल्नुपर्छ, प्रधानमन्त्रीलाई पनि सकारात्मक दबाब पुग्छ ।’
महामन्त्री शर्माले सहकारी ठगीका विरूद्धमा आफूहरूले उठाएको आवाज बलियो बनाउन पनि उपनिर्वाचनमा कांग्रेसका पक्षमा मत चाहिएको बताए । सहकारी पीडितलाई न्याय दिलाउन कीर्तिपुरले पनि योगदान दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘कीर्तिपुरले कसलाई मेयर बनाउने भन्नेमात्र होइन, कीर्तिपुरले मत दिँदै गर्दा सोच्नुछ- शौचालय सफा गरेर बसेकी सीता मिजारको पक्षमा उभिन्छ कि उभिँदैन । कांग्रेसका को जेल जान्छन् चिन्ता नगर्नू, एमाले, माओवादी, रास्वपा को जेल जान्छन् चिन्ता नगर्नुस् ।’
कांग्रेसबाट कीर्तिपुर नगर प्रमुखमा कृष्णमान डंगोल उम्मेदवार छन् ।