काठमाडौं । करोडौँको लगानी, विदेशी खेलाडीहरूको ठूलो सङ्ख्या र समर्थकको उत्सुकताले चर्चाको उत्कर्षमा रहेको नेपाल प्रिमियर लीग (एनपीएल) सुरु हुन अब केही दिन मात्रै बाँकी छ ।
आउँदो शनिबारदेखि सुरु हुने एनपीएलको रन्कोले नेपाली खेलकुद मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि अर्थतन्त्र नै तातेको छ । नेपाल क्रिकेट संघ (क्यान)को ड्रिम प्रोजेक्ट साकार हुनै लाग्दा यसले सामाजिक सञ्जालमा पाएको चर्चा, मैदानको रौनक, खेलाडीको जोश, विदेशी खेलाडीको उपस्थिति, प्रत्यक्ष प्रसारणको विश्वव्यापी पहुँच र पुरस्कारजस्ता पक्षले नेपाली मात्रै नभई विदेशीहरू पनि एनपीएलको पखाइमा छन् ।
सहभागी आठ फ्रेञ्चाइज टिमले विदेशी खेलाडी किन्नमा कन्जुस्याइँ नगर्नु र टिम तयारीमा गरिएको तामझामले पनि प्रतियोगितामा रस थप्ने काम गरिरहेको छ । यसका साथै चर्चित कलाकारहरू जोडिनुले पनि यसको थप रौनकता बढाएको छ । एनपीएलमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राईदेखि नायिका स्वस्तिमा खड्का, गायिका रचना रिमाल र युट्युबर सिसन बानियाँ समेत जोडिएका छन् ।
एनपीएललाई भारतमा हुने फ्रेन्चाइज लिग इन्डियन प्रीमियर लीग (आईपीएल)जस्तै चर्चित ब्रान्ड बनाउने क्यानको महत्त्वाकांक्षी योजना छ । त्यसैले प्रतियोगिताका खेलहरू विश्वस्तको च्यानल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुनेछ ।
एनपीएलका खेलहरू युट्युब समेत हेर्न सकिने छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो । योसँगै दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्षरूपमा हेर्न सक्ने भएका छन् ।
एनपीएलमा विश्व चर्चित क्रिकेटर शिखर धवन, मार्टिन गप्टिल, जिमी निशम, स्कट कुगेलेइजन, रेयमन रेइफर, रवि बोपारा, स्टेफन इस्किनाजी र ड्यान डौथवेट लगायतका विश्व स्टार एनपीएलमा खेल्दै छन् ।
चार महिनाअघि मात्र सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका भारतीय ओपनिङ ब्याटर धवनले कर्णाली याक्सबाटे खेल्नेछन् । कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा समेत हेरिएको छ ।
विश्वव्यापी फ्रेन्चाइज लिग खेल्दै आएका निशमले जनकपुर बोल्ट्स र गप्टिलले विराटनगर किंग्सबाट खेल्नेछन् । न्युजिल्यान्डका अर्का खेलाडी कुगेलेइजन सुदूरपश्चिम रोयल्स, इंग्ल्यान्डका भेट्रान रवि बोपारा चितवन राइनोज तथा इंग्लिस क्रिकेटमा जमेका इस्किनाजी र डौथवेट काठमान्डु गुर्खाजबाट एनपीएलमा उत्रनेछन् ।
ट्रफीमाथि किन राखियो ढुंगा ?
एनपीएलको ट्रफीमा राखिएको एक वस्तु चर्चाको विषय बनेको छ । ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । यही ढुंगाले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।
क्यानका अनुसार, ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको बताएका छन् ।
वेस्ट प्लेयरले गाडी पाउने
एनपीएलको वेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउनेछन् । यसका लागि एनपिएल आयोजक क्यानले ओमोडा एण्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ ।
क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले ओमोडा एण्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भुमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पु¥याउने विश्वास लिएको छ ।
खेलाडी र दर्शकले क्रिक्रेटलाई माया गरे पनि सरकार र यसको विकासका लागि बनाइएका संस्थाहरूले भने प्राथमिकता खासै राखेका छैनन् । सरकारले खेलको विकास र विस्तारमा चाहिँदो योगदान नै दिएन भनिरहेका बेला एनपीएल एउटा जवाफ हुन सक्छ । नेपाली खेलकुद विकास लागि एउटा मोडल हुन सक्छ । नेपाली खेलाडीलाई यसले खेलेरै कमाउन सकिन्छ भन्ने एउटा ‘प्लेटफर्म’ बनाइदिएको छ ।