काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादीले हतियार उठाउँदा मुलुकको महत्त्वपूर्ण १० वर्ष खेर गएको बताएका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले युवाहरूलाई रोजगारी दिने भन्दा पनि युद्धमा लगाउँदा मुलुकको महत्त्वपूर्ण १० वर्ष खेर गएको बताएका हुन् । उनले अहिले पनि प्रचण्डले हप्तामा एकपल्ट काँग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको बताए । उनले कांग्रेस प्रधानमन्त्रीको आकाङ्क्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए ।
उनले खाडी मुलुकमा भन्दा बढी तलब दिने अवस्था सिर्जना गर्न सकेमात्रै युवाहरूलाई स्वदेशमा परिचालन गर्न सकिने बताए । ठूलो दलको हैसियतले मुलुकका जनताको जीवन परिवर्तनको आभास हुने गरी काँग्रेसले काम गर्ने उनको भनाइ छ ।