Logo
Logo
कला-जम्काभेट

‘काम सिक्न र गर्न उमेरले छेक्दैन’


4.3k
Shares

भक्तिसंगीत अर्थात भजनकिर्तन सुन्दा मनमा बेग्लै आनन्द हुन्छ । पशुपतिनाथ मन्दिरलगायत विभिन्न शिवालयहरू र धार्मिकस्थलमा गुञ्जिने भजनकिर्तनमा मग्न हुनेहरू प्रसस्त छन् । ती भजनकिर्तनमा सधैँ सुनिने स्वर हो, सीमा उप्रेती । सीमाको दिनचर्या भजनकिर्तन वा भक्तिसंगीतमै बितिरहेको हुन्छ । उनले गाउन थालेका धेरै भयो । पछिल्लो चार वर्षयता निरन्तर विभिन्न धार्मिक व्यासमा बसेर भक्तिसंगीतमा रमाउँदै आएकी छिन् । सीमा भन्छिन्, ‘म भजन आँखा चिम्लेर गाउँछु, मेरो ध्यान कतै जाँदैन । आनन्द लाग्छ ।’

महिनामा उनी कम्तीमा २० दिन विभिन्न शिवालयहरूमै भजन गाउन व्यस्त हुन्छिन् । विशेषगरी, उनी शिव आरती गाउँछिन् । भजनकिर्तनप्रति मोहित भजन गायिका सीमा उप्रेतीसँग रेजिना पाण्डेको जम्काभेट ।

नयाँ पुस्तामा पनि अहिले भक्तिसंगीतप्रति मोह बढ्दै गएको हो ?
भक्तिसंगीतप्रति अहिले मात्र होइन, पहिलेदेखि नै मोह छ । यसको उदाहरण धेरै स्रष्टाहरूले दिइसक्नुभएको छ । अहिले पनि त्यो मोह घटेको छैन । युवाहरूमा गाउने शैलीमात्र फरक भएको हो ।

धार्मिकस्थलमा भजन तथा आरती गाउने चलन फेसनजस्तै भयो भन्छन नि ?
यो राम्रै कुरा हो । आफ्नो वरिपरि भएका धार्मिक स्थललाई माया गर्नु, सुरक्षित गर्नु र त्यस्ता स्थानलाई गौरवमय बनाउनुलाई फेसन भन्न मिल्दैन । हामी सानो हुँदा धामिर्कस्थलमा भजन गाउने, रमाइलो गर्न नाचगान गर्ने भइरहन्थ्यो । तर, बिचमा केही कम भएको मात्र हो । अहिले समयअनुसार चलेको छ । भजनकिर्तन गाउनु विकृति होइन । यो आम मानिसले बुझ्नुपर्छ । जीवनको भागदौडको व्यस्ततामा एकैछिन मन्दिरको कुनामा बसेर भजन सुन्दा शान्ति मिल्छ ।

तपाईँ विभिन्न शिवालय र मन्दिरमा भजन गाउनुहुन्छ, कसरी भ्याउनुहुन्छ ?
भगवानकाे कृपाले आजसम्म भ्याएकी छु । आफ्नो कर्म नै यही भएपछि गर्नैपर्छ र भ्याउनुपर्छ ।

दिनदिनै भजन मण्डलीमा गाउँदै हिँड्नुहुन्छ, परिवार र साथीभाइले के भन्नुहुन्छ ?
बोल्नेको मुख थुन्न सकिन्न । यो बिचमा राम्रो भन्नेहरू पनि धेरै छन् । भगवानकाे नाममा कीर्तन गाइरहेकी छु । कमाइ पनि रहेकी छु । अनुशासित र सभ्य भएर आफ्नो काम गरिरहेको छु । भगवान्को कृपाले यो नै मेरो उपलब्धि पनि हो ।

तपाईँले थुप्रै भोजपुरी चलचित्रमा गाउनुभएको छ, तर भक्तिसंगीतमै बढी लगाव किन ?
गाउनलाई म सबै गाउँछु । तर, बाल्यकालदेखि नै भक्तिसंगीतप्रति विशेष रुचि थियो । केही समय गाउन छोडेकी थिएँ । तर, पछि भक्तिसंगीतमै गाउने अफर आएपछि गाउन थालेकी हुँ ।

बिचमा किन गाउन छोडनुभएको थियो नि ?
बच्चा भएपछि गाउन छोडेकी थिएँ । बच्चालाई हेर्ने, पढाउने काममै व्यस्त रहेँ । श्रीमान् विदेशमा भएकाले सबै आफैँले गर्नुपर्ने भयो । बच्चा हुर्कँदै गएपछि संगीत र व्युटिपार्लरलाई निरन्तरता दिन थालेँ । हाल म रत्नराज्य क्याम्पसमा संगीतमा व्याचलर गर्दैछु । र, रियाज म्युजिकमा पनि संगीत सिकिरहेकी छु ।

अहिले आएर संगीत पढ्दै हुनुहुन्छ ?
काम सिक्न र गर्न उमेरले छेक्दैन । पहिले पनि संगीत सिकेरै लागेकी थिएँ । फरक यतिमात्र थियो कि, आफ्नो जिम्मेवारीले काम गर्न पाएकी थिइनँ । अब कामलाई अगाडि बढाएर पढ्न र सिक्न खोजेकी हुँ । र, यसै विषयमा थप अध्ययन गरौँ भनेर कक्षा लिएको हुँ । ज्ञान लिएर कहिल्यै खेर जाँदैन ।

तपाईँ व्युटिसियन पनि हो ? व्यवसायी चलाउन गाह्रो छैन ?
हो, मेरो व्युटिपार्लर पनि छ । अहिले पार्लरको क्षेत्रमा पनि प्रतिस्पर्धा छ । ग्राहक पनि बढेका छन् । तर, मेरो नियमित गाहक भएकोले खासै फरक पारेको छैन ।

पार्लर व्यवसायले गर्दा धेरै महिलाले रोजगार पाएका छन् है ?
धेरै महिलाले व्युटिपार्लरबाट राम्रै कमाइरहेका छन् । धेरै महिलाहरूको आर्यस्रोत पनि बनेको छ । गर्न सकियो भने पार्लर व्यवसाय राम्रो छ । पार्लर व्यवसायले महिलालाई बेग्लै पहिचान दिलाएको छ ।

स्वरजस्तै मान्छे पनि राम्री हुनुहुन्छ, भजन गाउँदा कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?
म भजन आँखा चिम्लेर गाउँछु । मेरो ध्यान कतै जाँदैन । तर, पशुपति र अन्य ठाउँमा गाउँदा धेरै आमाहरूले भन्नुहुन्छ– यस्तै हाम्रा पनि छोरीबुहारी भइदिए हुन्थ्यो । यसो भन्दा खुसी लाग्छ ।

भजन गाएर अहिलेसम्म के पाउनुभयो ?
सन्तुष्टि र आनन्द । अनि दर्शक र भक्तजनको माया पाएकी छु ।

भक्तिसंगीतबाहेक सीमाले अरू गीत पनि गाए हुन्थ्यो भन्नेहरू पनि छन् नि ?
हो, तर काम गर्दै जाऊँ । त्यो दिन पनि नआउला भन्न सकिन्न । अहिलेलाई चाहिँ शिवालय र मन्दिरहरूमै गाउन पाएको छु । यसैमा आनन्द छ ।

भविष्यको योजना के छ ?
यही गीतसंगीतमै लाग्ने हो । पार्लर पनि छ । यसलाई पनि निरन्तरता दिन्छु । साथै, भक्तिसंगीतमा एकाग्रत भएर लाग्ने सोच बनाएकी छु ।

भजनमा तपाईँलाई प्रभावित पार्ने व्यक्ति को–को छन् ?
भजन शिरोमणि भक्तराज आचार्य र मेरो गुरु नरेश भुर्तेल हुनुहुन्छ । जसले मलाई संगीतमा निखारिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्