Logo
Logo

सिरहामा प्रहरीकै स्कर्टिङमा मदिरा तस्करी


3k
Shares

सिरहा । सशस्त्र प्रहरीका असइ लक्ष्मण प्रसाद यादव हत्याकाण्डसँगै सिरहामा नेपाल प्रहरीकै स्कर्टिङमा मदिरा तस्करी हुँदै आएको रहस्य खुलेको छ ।

अनुसन्धानका क्रममा प्राप्त भिडियोमा प्रहरीले नै स्कर्टिङ गरेर मदिरा भारततर्फ लगिरहेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो प्रहरी स्कर्टिङमा मदिरा भारततर्फ लगिएको दृश्य स्पष्ट देखिन्छ ।

सई यादवलाई ठक्कर दिने स्कोरपीयो । फोटो सार्वजनिक भिडियोबाट

उक्त दृश्य बरियारपटी गाउँपालिकाको कचनारीको हो । कचनारी दशगजासँगै जोडिएको छ । जहाँ सशस्त्र प्रहरीका सई यादवको गाडीले किचेर सुनियोजित रूपमा हत्या गरिएको थियो । अनुसन्धानका लागि प्रहरीले दुईजनालाई समातेर बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले हत्यामा संलग्नको पहिचान भइसकेको जनाएको छ ।

सई यादवलाई ठक्कर दिने स्कोरपीयो कसको ?

मदिरा बोकेर भारततर्फ गइरहेको स्करपियोलाई गस्तीमा रहेको सुरक्षाफौजले चेकजाँचका लागि रोक्न खोज्दा नरोकी भाग्ने प्रयास गर्दा सशस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवलाई ठक्कर दिएको थियो ।

सिरहा बरियारपट्टि गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा ईलाकामा बिओपी बडहरीबाट सप्रनानि लक्ष्मण प्रसाद यादवको कमाण्डमा खटिएको ५ जनाको मोटरसाईकल गस्ती टोली र प्रहरी चौकी कच्नारीबाट खटिएको प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ति टोलीले चेकजाच गर्ने क्रममा नम्बर प्लेट नखुलेको मदिरा बोकेको स्कारपियो गाडीले सप्रनानि लक्ष्मण प्रसाद यादवलाई ठक्कर दिई भारततर्फ भागेको सशस्त्र प्रहरी बलका मधेश प्रदेश इञ्चार्ज डिआईजी कालिदास धौवजीले जानकारी दिए ।

ठक्करबाट गम्भिर घाइते भएका सई यादवलाई उपचारका लागि एम्बुलेन्समा राखि प्रादेशिक अस्पताल लहानमा लगिएको थियो । तर, ४ बजे चिकित्सकद्वारा मृत घोषणा गरिएको थियो । घटनास्थल दशगजाबाट ३ सयदेखी ४ सय मिटर नेपालतर्फ रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्कर दिएको बताए । स्करपियो मदिरा बोकेर आइरहेको सूचनाका आधारमा संयुक्त सुरक्षाफौजले रोकेर चेकजाँचको गर्न खोजेको थियो ।

मदिरा बोकेर भारततर्फ गइरहेको उक्त स्करपियो चर्चित मदिरा तस्कर बिष्णु भगतको रहेको स्थानीयले दाबी गर्दै आएका छन् । स्थानीयहरूका अनुसार ठाडीदेखी बरियारपटीसम्मको क्षेत्रका नाका प्रयोग गर्दै बिष्णुले बिगत धेरै समयदेखी मदिरा तस्करी गर्दै आएका छन् ।

मदिरा बोकेको चारचक्के गाडी नेपाल प्रहरीको बाईकले स्कर्टिङ गरिरहेको भिडियो सार्वजानिक भएपछि गृह प्रशासनमा खैलाबैला मच्चिएको छ । र, यो दृश्यले मदिरा तस्करीमा नेपाल प्रहरीको प्रत्यक्ष संलग्नता रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्