Logo
Logo

भक्तपुर क्यान्सर अस्पताल लथालिङ्ग


2.1k
Shares

काठमाडौं । केन्द्रीय अस्पतालसरह संचालनमा रहेको भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टर विगत १ बर्षदेखि रिक्त छ । उक्त अस्पताल निमित्त डाइरेक्टरका भरमा संचालनमा रहेको छ । तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अस्पताल संचालन गर्नका लागि बैकल्पिक ब्यवस्था निमित्त कार्यकारी निर्देशकको रुपमा डा. उज्ज्वल चालिसेलाई पठाएका थिए ।

मन्त्री प्रदीप पौडेल र उज्ज्वल चालिसे

कन्फर्म कार्यकारी निर्देशकका रुपमा रहेका डा. ऋषिकेशनारायण श्रेष्ठ उमेरहदका कारण अवकाश भएपछि चालिसेले निमित्त पाएका हुन् । नवौं तहका चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउँदा पनि मन्त्री यादवले मोटो रकम असुली गरेको आरोप लागेको थियो ।

अस्पतालको स्वास्थ्य उपकरण र औषधि खरिदको रकम गत आर्थिक बर्षमै भुक्तानी गर्न बाँकी रहेको थियो । सो रकम भुक्तानी गर्दा मोटो कमिसन प्राप्त हुने प्रलोभनले यादवले चालिसेलाई निमित्त डाइरेक्टर बनाएका थिए । यादवले सरुवा र नियुक्तिसम्बन्धी पहिलो निर्णय चालिसेकै हकमा गरेका थिए ।

कुनै पनि कर्मचारीलाई निमित्त प्रमुख दिंदा तीन महिनाका लागि दिइन्छ । तर राजधानीकै मुटु भक्तपुरमा रहेको केन्द्रीय अस्पताल जस्तो निकाय अहिले पनि निमित्तकै भरमा संचालन भइरहेको छ । स्रोतका अनुसार कास्की घर भएका चालिसे वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलका सहपाठी हुन् । सहपाठी भएकै कारण मन्त्री पौडेलले अन्य अस्पताल र निकायमा कर्मचारीको सरुवा गर्दा उनलाई यथावत राखेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल संचालन गठन आदेशमा ११ तहको कर्मचारी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुने ब्यवस्था छ । क्यान्सर अस्पतालमा कार्यरत नभए नेपालका ११ तहमा कार्यरत जुनसुकै अस्पतालका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउन सकिने प्रावधान छ ।

तर सुशासनको रटान लगाउने र स्वास्थ्य क्षेत्रको सुधारको गुड्डी हाँक्दैआएका युवा दाबी गर्ने मन्त्री पौडेलले निमित्तकै भरमा अस्पताल संचालन गर्न खोज्नुमा सहपाठीमात्र नभएर आर्थिक पाटो पनि जोडिएको स्रोत बताउँछ ।

सुरुमा अर्बुद रोग निवारण संस्थाबाट संचालित उक्त अस्पताल भक्तपुर नगरपालिकाले बलजफ्ती लिएको थियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका पालामा उक्त अस्पताल संघीय सरकारले नै संचालन गर्नेगरी गठन आदेश जारी गरिएको थियो । संस्थाले संचालन गर्दा असन्तुष्टि जनाएर जबर्जस्ती हस्तक्षेप गरेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले त्यस अवधि भन्दा अहिले अस्पतालको बेथिति चरम रुपमा बढ्दा पनि चुईक्क बोल्ने हिम्मत गरेका छैनन्् ।

गठन आदेशमा भक्तपुर नगरपालिकाको समेत प्रतिनिधित्व रहने ब्यवस्था छ । मेयर प्रजापतीको मौनता हुनु र मन्त्री पौडेलले कन्फर्म निर्देशक नपठाउँदा अस्पतालका प्रशासकीय प्रमुख राजाराम तलेजु र लेखा शाखाका कर्मचारीहरुको दैनिक दशैं जस्तै छ । स्वास्थ्य सामग्री खरिददेखि विपन्न कर्मचारीको उपचारमा प्राप्त हुने रकममा समेत अस्पतालका कर्मचारीहरुले गिद्देदृष्टि लगाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्