काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)का प्रमुख दीपक थापाको शक्तिकेन्द्रदेखि लिएर सबैसँग सम्बन्ध राम्रो रहेको छ । तत्कालिन माओवादीदेखि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसम्म उनको सम्बन्ध सकारात्मक रहेको छ ।
नयाँ प्रहरी ऐन कार्यान्वयनमा नआएमा अबको चार महिनापछि उनै थापा प्रहरी महानीरिक्षक हुनेछन् । त्यसका लागि उनले नै सबैतिर आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।
पछिल्लोपटक सिआइबीमा गएपछि रवि लामिछाने पक्राउदेखि दीपक मानाङे, दुर्गा प्रसाईँ पक्राउसम्मको जस लिने वातावरण उनै थापालाई मिलेको छ । अहिले प्रहरीमा थापाकै कमाण्ड चल्ने गरेको छ । सरुवा बढुवामा पनि थापाले नै कमाण्ड गरिरहेको स्रोतको दावी छ ।
पछिल्लोपटक विशेष व्यूरोमा रहेका राजन अधिकारीले दीपक मनाङे र दूर्गा प्रसाईका मान्छेलाई पक्राउ गरी सिआइबीलाई जिम्मा दिएको छ । सिआइबीले नै उनीहरुलाई मुद्दा चलाउने र अदालतको आदेश कार्यान्वयन गर्ने गरेको छ । सहकारी ठगी र बुद्धचित्तका अरोपीहरुलाई पनि विशेष व्यूरोका अधिकारीको टिमले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । तर यसको जस भने सिंगो सिआइबीले लिदै आएको छ ।
सानो भर्याङको पद्य कोलनीमा लुकेर बसेका मनाङेलाई सिआइबीको टोलीले लामो समय लगाएर पत्ता लगाएको थियो । अपराध महाशाखा, प्रहरी परिसर, सिआइबीको टोलीले खोजिरहेको बेला व्यूरोका अधिकारीहरुले पत्ता लगाएर सिआइबीको टोलीलाई पठाएका थिए ।
त्यसैगरी पछिल्लो समय दूर्गा प्रसाईका मान्छेले भारतीय आपराधिक गिरोह ‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै नेपालीलाई धम्क्याउने झापाका हरिचन्द्र फुयाँलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका अन्य उच्च अधिकारीलाई १ सय १३ पटक धम्क्याएको विषयलाई पनि अधिकारीको टोलीले खुलाएर सिआइबीलाई दिएको थियो ।
फुयाँल मंसिर १३ गते नेपाल–भारत सीमानाकाबाट पक्राउ परेका थिए । केही व्यापारीहरूले भारतीय नम्बरबाट विश्नोईको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको योजनामा आपराधिक कार्यका निम्ति परिचालित उनी विश्नोई समूहको नभई प्रसाईंद्वारा आफ्नो स्वार्थमा परिचालन गरिएका हुन । फुयाँल घ्यू व्यापारी हुन् । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । फुयाँललाई आपराधिक लाभमा अनुसन्धान भइरहेको छ । ‘अरुको त नाममात्रै लिएका हुन्, काम चाहिँ प्रसाईँले लगाउने गर्थे’, स्रोतले भन्यो ।
यस्तै व्यूरोले पछिल्लो समय शेरबहादुर देउवाको निवासमा बम पड्काउनेलाई पनि पक्राउ गरी बुझाएको छ । यसैगरी जयकृष्ण गोइतबारे पनि अनुसन्धान गरिरहेको छ । विशेष व्यूरोले यति धेरै अनुसन्धान गरे पनि चर्चा भने दीपक थापाकै छ ।