Logo
Logo

प्रधानमन्त्री ओलीको गृहजिल्लामा एमालेलाई हराउने अर्का ओली को हुन् ? 


8.4k
Shares

काठमाडौं  । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । 

आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले)का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।

कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

को हुन् लक्ष्मीप्रसाद ओली ?

लक्ष्मीप्रसाद ओलीको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । उनी विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका थिए । उनी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध थिए । उनी मात्रै होइन, उनका बुबा र हजुरबुबाले पनि काँग्रेसबाटै राजनीति गरेका थिए । 

२०७४ को स्थानीय तह निर्वाचनमा उनी कांग्रेसकै उम्मेदवार बनेका थिए । र, जिते पनि । ०७९ को निर्वाचनमा पनि ओलीको चाहना कांग्रेसकै उम्मेदवार बन्ने थियो । तर, उनलाई कांग्रेसले पत्याएनन् । त्यसपछि उनी बागी उम्मेदवर बने ।

बागी उम्मेदवर बनेका ओली त्यसबेला ४४० मतसहित दोस्रो भए । त्यहाँ एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर विजयी भए । एमालेका उम्मेदवारसँग पराजित भएपछि उनी सामाजिक काममा समेत अग्रसर भए । उनले बेसहारा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने, रकम अभावमा उपचार गराउन नसक्ने बिरामीहरूको लागि सहयोग गर्ने,  दुःखमा लागूअ‍ौषध विरुद्ध अभियन्ता चलाउने काम गरे । 

२०८४ को निर्वाचनमा फेरि जनप्रतिनिधि बन्ने उद्देश्यसहित उनी समाजसेवामा लागिरहे । तर, ओलीलाई ८४ सम्म कुर्नै परेन । ०७९ वडाध्यक्ष थापाको पित्त थैलीको क्यान्सरबाट निधन भयो । त्यसको फाइदा ओलीले उठाए । आइतबार भएको उपनिर्वाचनमा ओली फेरि वडाको नेतृत्वमा फर्किएका छन् । उनको यो कार्यकाल कस्तो रहन्छ भन्ने चाहिँ आगामी दिनले नै देखाउने छ । 

प्रतिक्रिया दिनुहोस्