काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको निष्कर्ष निकालेको छ । रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।
रास्वपाले लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको उल्लेख गरेको छ । रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएको छ । काठमाडौं-१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयीले महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएको बताएको छ ।