काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने भन्दै एकताका लागि आह्वान गरेका हुन् । उनले विगतका त्रुटि कमजोरीहरूबाट पाठ सिकेर नयाँ ढङ्गले बलियो वैचारिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।
राष्ट्रवादी भन्ने दलहरूले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए । उनले कांग्रेस–एमालेको विरुद्धमा जनता उत्रिएको देखिए पनि उनीहरूकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे । एकताको पूर्व सर्त आत्मिकता भएकाले विगतमा भएका कमजोरीलाई दोहराएर एकता हुन नसक्ने उनको भनाइ छ ।
उनले विभिन्न प्रकरणमा भइरहेको अनुसन्धान लम्बाउने काम भएको र प्रहरीले पक्राउ गरेहरुलाई मानसिक तनाव दिने काम भएको आरोप समेत लगाए ।
त्यस्तै उनले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिने काम गरेको बताए ।
आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको उनको भनाइ छ । ‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन । अपराधीले उन्मुक्ति पाउनु हुँदै’, उनले भने, ‘तर, अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको छ ।’