काठमाडौँ । जनमत पार्टीले सांसद गोमा लाभ (सापकोटा)को कारबाही सम्बन्धमा सभामुख देवराज घिमिरेले गरेको निर्णयउपर जारी गरेको विज्ञप्तिप्रति आपत्ति सचिवालयले जनाएको छ ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखले गरेको निर्णयप्रति असहमति राख्दै जनमतले जारी गरिएको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘संसदीय कार्यहरू संविधान, कानुन, संसद् नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्; सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु । जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु । सभामुखले आफू निर्वाचित भएकै दिन संसद्को निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आबद्धता त्याग गर्नुभएको स्मरण गराउँदै सबै राजनीतिक दल र माननीय सदस्यहरूप्रति समान व्यवहार प्रदर्शन गर्नुभएकोमा कुनै शंका छैन ।’
जनमतले विज्ञप्तिमा जनाएअनुसार ‘सभामुखले संसदमा कुनै भाषा, भेषभूषाको प्रयोग सम्बन्धमा भेदभाव गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको’ जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक रहेको विज्ञप्तिमा भनिएको छ ।
जनमतले सापकोटालाई समानुपातिक सांसदबाट हटाउन भन्दै चार पटकसम्म पत्र लेखे पनि सभामुख घिमिरेले पदमुक्त गर्नुपर्ने आधार नरहेको भन्दै इन्कार गरिदिएका थिए ।
सभामुख घिमिरेको निर्णयप्रति आपत्ति जनाउँदै जनमत पार्टीले विज्ञप्ति जारी गरेर ‘सभामुखको नातेदार र समुदायको मान्छे’ भएको उल्लेख गर्दै राजीनामा समेत माग गरेको थियो । त्यसपछि संसद् सचिवालयले सभामुखले कानुन अनुसार निर्णय लिएको मङ्गलबार दिउँसो विज्ञप्तिमार्फत् बताएको थियो ।