सिरहा । सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन् ।
सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानदेखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन् ।
क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सिराहाको सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन् ।
घटनास्थलमा प्रहरी परिचालन गरिएपनि प्रदर्शनकारीको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन ।
युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन् । प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।