Logo
Logo

१९ वर्षीय युवकको क्वारेन्टिनमा मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

डोटी, २५ जेठ । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आइतबार बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।
भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थिए । ‘१२÷१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ’, मृतकका बुबा ऐरले भने, ‘क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।’
छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टिन बस्ने शर्तमा भित्र पस्नुभएको थियो । ‘गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो’ उनले भने, ‘पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।’ मृतकका बुबा पनि गए रातिबाट क्वारेन्टिनमै बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्