‘सकम्बरी’ अर्थात कुसुम शर्मा । धेरैले उनलाई ‘सकम्बरी’ नामले चिन्ने गर्छन् । लोकगायक प्रकाश सपतूको ‘फूलमाया’ गीतको भिडियोमा ‘सकम्बरी’को पात्रमा अभिनय गरेपछि उनी एकाएक चर्चामा आइन् । हाल चलचित्र, म्युजिक भिडियो र वेब सिरिजमा रहेकी कुसुम भन्छिन्, ‘अब यही क्षेत्रमै निरन्तर काम गर्ने सोच बनाएकी छु ।’ करिब ४० वटा म्युजिक भिडियो र केही चलचित्र तथा वेब सिरिजमा काम गरिसकेकी कुसुम शर्मासँग रेजिना पाण्डेको जम्मकाभेट :
कलाकारितातिर लगाव कसरी बढ्यो ?
बाल्यकालदेखि नै मलाई यो क्षेत्र मन पर्दथ्यो । म विद्यालयको हरेक सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन्थेँ । सिनेमाहरू पनि धेरै हेर्थेँ । तर, म्युजिक भिडियो र सिनेमा नै गरिन्छ, यही क्षेत्रमा आइन्छ भन्नेचाहिँ सोचेकी थिइनँ । तर, भाग्यले यत्तै ल्यायो । दर्शकले मेरो काम मन पराइदिनुभएको छ, खुशी लागेको छ ।
एकाएक चर्चामा आउनुभयो । फेरि सेलाउनुभयो, किन ?
हो, मलाई ‘फूलमाया’मा गरेको सकम्बरी पात्रले चर्चामा ल्याएको हो । तर, अहिले कुसुमको चर्चा कम भएको छ । मलाई लाग्छ– सधैं समय एकनास नहुने रहेछ । कहिले कुनै कामले नसोचेको उपलब्धि दिन्छ भने, कहिले सोचेको कामले पनि चर्चा दिँदैन । यो क्षेत्र नै यस्तै हो ।
‘सकम्बरी’जस्तो अरू प्राजेक्ट नपाएकै हो त ?
काम पाएकै छु, गरिरहेकी पनि छु । तर, चर्चाचाहिँ कम भएको हो । कामको प्रशंसामा भने कमी आएको छैन । धेरैले मेरो कामलाई मनपराउनु भएको छ । मलाई लाग्छ कि, समाजको यर्थात पात्रसँग फुलमायाको मेल खाएको भएर त्यो बढी चर्चा भएको हो ।
काम गर्दैगर्दा यो प्रोजेक्ट चल्छ या चल्दैन भन्ने थाहा हुन्छ ?
हुँदैन । कहिले कहिँ नसोचेको कामले धुरीमा पु¥याइदिन्छ । कहिले सोचेर काम गर्दा पनि निराश बनाइदिन्छ ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
चलचित्रतिर पनि काम आइरहेको छ । कतिको स्क्रिप्ट पढिरहेकी छु । म्युजिक भिडियो र वेव सिरिजतिर पनि व्यस्त छु । खाली बस्नुुपरेको छैन ।
तर, अहिलेसम्म फिल्ममा मुख्य भूमिका किन पाउनु भएन ?
सायद मेरो लागि सुहाउँदो फिल्मको कन्सेफ्ट वा कथावस्तु नमिलेर हुनसक्छ । अब चाँडै मुख्य भूमिका गर्ने अवसर पनि आउँला । मेकर र निर्देशक सबैले मेरो कामलाई साथ र सहयोग दिइरहनुभएको छ । आगागी दिनमा पनि राम्रो प्रोजेक्टहरूमा अवसर पाउने कुरामा ढुक्क छु ।
अहिले गरिरहेको कामको पारिश्रमिकबाट सन्तुष्ट हुनुहुन्छ ?
सबै चित्त बुझेरै काम गरिन्छ । यसैले सन्तुष्टि छु ।
पारिश्रमिक नपाएर बिचमै काम छोडेको अनुभव छ कि छैन ?
त्यस्तो अवस्था पनि आएको छ । तर, नामचाहिँ नलिऔँ । कति त काम गर्दा धेरै किचकिच गर्नुहुन्छ । यस्ताहरूसँग काम गर्न दिक्क लाग्छ ।
यदि, कला क्षेत्रमा काम पाउनुभएन भने के गर्नुहुन्छ ?
हातमा सिप र पढाई छ । त्यसैले मलाई काम गर्न कतै बाधा पुग्दैन । सपनाहरू धेरै छन् । एउटा सपना टुट्दा अर्काे बाटो बन्दै जान्छ ।
सिनेमाबाहेक फुसर्दमा के गर्न मनपर्छ ?
सुटिङ र पढाईबाट बचेको समयमा घरको काम गर्छु । मलाई घरको काम गर्न मनपर्छ । प्रायः खाली भएको समय म आफैं खाना पकाउने गर्छुु र सरसफाई पनि । ममीलाई काम गर्न दिन मलाई राम्रो लाग्दैन ।
किन ?
आमा भनेको आमा हो नि, हाम्रो लागि आमाले कति गर्नुहुन्छ । यति त मेरो आमाको लागि के हो र ।
कला क्षेत्रमा परिवारको सपोर्ट छ ?
एकदमै सपोर्ट छ । तिमीलाई जे काममा रुचि छ, त्यही गर भनेर सपोर्ट पाएकी छु । तर, काम गर्दै जाँदा पढाईलाई पनि सँगै लैजाउ भन्नुभएको थियो । काम र पढाई दुवै मिलाएर लान आजसम्म पनि परिवारको साथ पाइरहेकी छु ।
एउटा नायिकामा हुनुपर्ने गुण के हो ?
आफनो कामप्रति इमान्दारिता, लगनशीलता र क्यारेक्टरलाई बुझेर अभिनय गर्न सक्ने क्षमता हुनुपर्छ । त्यसबाहेक अरु कुरा त आफैले मेन्टेन्स गर्ने हो ।
अहिलेका युवा कलाक्षेत्रमा आउन रुचाउँछन् किन होला ?
हो, एक त यो क्षेत्रमा कामसँगै दाम र नाम कमाउन सकिन्छ । अर्कोकुरा, आज मिडियाको पहुँच ठूलो भएकोले पनि यो क्षेत्रप्रति युवाको आकर्षण बढेको जस्तो लाग्छ । यो क्षेत्रमा इमान्दारिताका साथ राम्रो काम गर्न सक्यो भने जताततै वाहावाही छ ।
तपाइँको भावी योजना के छ ?
मलाई कला क्षेत्रमा नशा बसिसक्यो । अब कला क्षेत्रबाट बाहिर गएर सायद अरु केही काम गर्न सक्दिनँ । त्यसैले यही क्षेत्रमा आवद्ध भएर निरन्तर काम गर्ने योजना छ । हेर्दै जाऊँ, भविष्यको सबै कुरा अहिल्यै भन्न सकिन्नँ ।