Logo
Logo

आजैदेखि कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ ।
प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।
विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आजैदेखि चार्टर्ड उडानमा रोक लगाएको हो । प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।
निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आइतबार बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय संकट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथी बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो । प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ ।
निगमका एक उच्च अधिकारीका अनुसार प्राधिकरणको निर्णयले निगमलाई सबैभन्दा मार पुगेको बताए । उनले बन्दाबन्दीको अवधिमा चार्टर्ड उडानको अभिभारा बोकेको निगमलाई पछिल्लो प्राधिकरणको निर्णयले सबैभन्दा बढी असर गरेको बता्ए ।
निगमले बन्दाबन्दीको अवधिमा नौ कार्गोसहित २३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान तथा आन्तरिकतर्फ ११ चार्टर्ड उडान गरेको जनाएको छ । निगमले अन्य मुलुकमा पनि चार्टर्ड उडानका लागि पहल गरिरहेको थियो ।
सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो । त्यस्तै चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको थियो । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ । पछिल्लोपटक जेठ समान्तसम्म बन्दाबन्दीलाई निरन्तरता दिइएको छ । आगामी असार १६ सम्म हवाई उडान स्थगन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्