Logo
Logo

‘हतियार नदिए सुरक्षा दिन सकिन्न’


3.9k
Shares

काठमाडौं । नेपाल प्रहरीले हातहतियारको चरम अभाव झेल्नु परेको भन्दै सरकारसँग खरिदका लागि आग्रह गर्दै आएको छ । लामो समयदेखि प्रहरीले हतियार खरिद गर्न नसक्दा शान्तिसुरक्षामा गम्भीर असर परेको जनाउँदै खरिदका लागि आग्रह गरेको हो । गत साता गृह मन्त्रालयमा भएको एउटा छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आइजिपीले जोडदारका साथ भने, ‘‘हतियार अभाव छ, यसको समाधान हुनुप¥यो ।’’

गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरू भएको बैठकमा दुवै आइजिपीले तालिम गर्ने हतियारसमेत अभाव रहेको बताएर अब सामग्री नकिन्ने हो भने शान्तिसुरक्षाका लागि प्रहरी खटिन गाह्रो हुने गुनासो गरेका थिए । नेपाल प्रहरीले संगठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि हातहतियार खरिद नभएकाले चरम अभाव झेल्दै आएको छ ।

सरकारबाट हातहतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक हातहतियार खरिद गर्ने प्रक्रियामा रहे पनि हुन सकिरहेको छैन । नेपाल प्रहरीमा दरबन्दी थपिएको तर हतियार नथपिँदा समस्या भएको छ । ‘‘समय समयमा जनधनको क्षति हुने, शान्ति र अमनचयन खलबल्याउने प्रकृतिका दंगाफसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधि नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरूको आवश्यकता रहँदै आएको छ’’, प्रहरी महानिरीक्षक वसन्त कुँवरले बैठकमा भनेका थिए ।

ग्यास सेल, व्यक्तिगत सुरक्षामा प्रयोग हुने साना हतियार र भिड नियन्त्रणमा प्रयोग हुने कम जोखिमयुक्त हातहतियारसमेत प्रहरीमा अभाव छ । राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै खरिद गर्नुपर्ने नेपाल प्रहरीको जोड छ ।

आइजिपी कुँवरले संसदीय समितिमै प्रहरीले बन्दोबस्तीका सामान कसरी जुटाइरहेको छ भन्ने पनि खुलाएका थिए । ‘अस्ति दुर्गा प्रसाइँको आन्दोलनमा सिल्ड (ढाल), बडी ‘प्रोटेक्टर’ बुटवलबाट, गण्डकी प्रदेश र भरतपुर तालिमकेन्द्रबाट मगाउनुपरेको छ’, आइजिपी कुँवरले भनेका थिए । ती दंगा, प्रदर्शनीमा ढुङ्गामुढा हुँदा प्रहरीलाई सुरक्षित बनाउने साधन हुन् । तर, प्रत्येक आन्दोलन र प्रदर्शनीमा प्रहरीको ढाल फुट्ने गर्छ । आन्दोलनका वेला कम्तीमा पनि चार–पाँच प्रतिशत ढाल फुट्ने गरेको जानकारहरू बताउँछन् ।

तर नयाँ ढाल नकिनेको भने वर्षौँ भएको प्रहरी अधिकारीहरूको जिकिर छ । एकातिर भिड, दंगा नियन्त्रणका आधुनिक उपकरण छैन भने, अर्कातिर भएका पनि कमसल र म्याद गुज्रेका छन् । प्रहरीले भिड नियन्त्रण गर्न अहिले पनि सबैभन्दा बढी अश्रु ग्यास प्रयोग गर्छ । यसमा भएको रसायन हावामा उडेपछि निस्कने धुवाँले आँखा पोल्ने भएकाले भिड तितरबितर पार्न सजिलो हुन्छ । यसको प्रयोगले मानव स्वास्थ्यका लागि दीर्घकालसम्म असर पु¥याउने भन्दै बन्देज लगाउन आवाज उठिरहेको छ । प्रयोग गर्ने तरिका, सेल हान्ने उपकरणका आधारमा प्रहरीले ६ खालका अश्रुग्यास प्रयोग गर्छ । अश्रु ग्यासमा हुने रसायनका आधारमा चाहिँ सिएन र सिएस दुई थरी प्रयोग गर्छ । सिएन तुलनात्मक रूपमा विषालु मानिने भएकाले सन् १९५९ पछि धेरै मुलुकले यसको प्रयोग गर्न छाडेका छन् ।

स्रोतले दिएको जानकारीअनुसार अहिले प्रहरीसँग ६० देखि ६५ हजार ग्यास सेल रहेकामा ५७ हजार थानको म्याद सकिएको छ । विसं २०७७ मा प्रहरीले चार हजार थान ग्यास सेल किनेयता थप खरिद गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्