काठमाडौँ । धनकुटाका गाउँमा उत्पादन भएको गाँजालाई भारततर्फ तस्करी गराउनका लागि सुनसरीस्थित सशस्त्र प्रहरी नै लागेको छ । सुनसरीमा कार्यरत सशस्त्र प्रहरीका प्रमुख सम्मेनन्द बज्रचार्यले यसको नेतृत्व गरेको स्रोतको जिकिर छ ।
सुनसरी ४ नं गणका गणपति बज्रचार्यले सामान्य सामान बरामद गरे झैँ गर्ने तर धनकुटाबाट झरेको गाँजालाई भने भारततर्फ पठाउने गरेको स्रोतको जिकिर छ । त्यसको उदाहरण केही दिन नेपाल प्रहरीले सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको थियो ।
सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको कोसी प्रदेशका डिआईजी चन्द्रकुवेर खापुङले जानकारी दिएका थिए । धनकुटाबाट गाँजा लिएर आउँदै गरेको स्कोर्पियोसहित दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको थियो । सशस्त्र प्रहरीले समेत छाडेको सो गाँजा बोकेको स्कोर्पियो नियन्त्रणको क्रममा प्रहरीले गोली नै चलाउनु परेको थियो ।
धनकुटाबाट ल्याइएको सो गाँजा भारत लैजान लागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परे पनि कुनै मानवीय क्षति भएको थिएन ।
भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि सुनसरीको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिनुमा सशस्त्र प्रहरी कारक रहेको स्रोतको जिकिर छ । यसले गर्दा पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको बताइएको छ ।
सुनसरीको भन्टाबारी नाकाबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेको बताइएको छ । बेलाबखत सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध ब्रोइलर कुखुरा, अण्डा र लत्ताकपडा पनि बरामद गर्ने गरेको छ ।
प्रहरीले जाँचकै क्रममा भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको थियो ।
यसरी भारतीय नाकाबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरीले थप सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकामा परिचालन गरिए पनि तस्करीका सामग्री, लागूऔषध लगायत बरामद हुने क्रम रोकिएको छैन ।
यो विषयमा सुनसरीका सशस्त्र प्रहरी प्रमुखलाई मुख्यालयले निगरानीमा राखेको छ । ‘एसपी सम्मेनन्द बज्रचार्यलाई यसअघि पनि सचेत गराइएको छ, अहिले उहाँको क्षेत्रमा निकै गुनासाहरू आएका छन्, मुख्यालयले निगरानी गरिरहेको छ’, सशस्त्र प्रहरी मुख्यालय स्रोतले दृष्टिसँग भन्यो ।
सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट दैनिक लाखौँ राजस्व छलेर विभिन्न सामान नेपाल ल्याउने गरेका छन् । हररिया र वीरपुर जिल्ला हुँदै मोटरबाटो कालोपत्रे भएका कारण पनि तस्करले भन्टाबारी नाका प्रयोग गरी अवैध ढङ्गले सामान नेपाल ल्याउने गरेका छन् ।
भन्टाबारी नाकामा सेतुबन्ध भन्सार कार्यालय र सशस्त्रको बोर्डर आउटपोस्टबाट चौबिसै घन्टा प्रहरी परिचालन हुने गरेका छन् । तर, तस्करले सशस्त्रकै मिलेमतोमा भन्सार छली करोडौंका सामान ल्याउने गरेको सुनसरीकै एक सशस्त्र प्रहरी अधिकृतले बताए ।
भन्टाबारी, घुस्की, बसन्तपुर, कप्तानगन्ज, देवानगन्ज र अमडुवा कपडालगायत दैनिक उपभोग्य वस्तुको तस्करी गर्ने प्रमुख नाका हुन् । भन्टाबारी नाकाबाट काठमाडौँ, वीरगन्जलगायत स्थानका पसलको भ्याट बिल प्रयोग गरी तस्करले भारतको वीरपुर हुँदै तस्करीको सामान भित्र्याउने गरेका छन् ।
कोसी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्करी हुने गरेको हो । कोसीमा चल्ने डुङ्गा र बाँसको कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भित्र्याउने र सुनसरीको सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने गरेका छन् । पछिल्लो समय गाँजा तस्करी गराउने ‘ट्रान्जिट पोइन्ट’ भण्टाबारी बनेको छ । मोरङको एसपी विश्बन्धु खड्का सबैभन्दा बढी सामान तस्करी गराउने भन्दै मुख्यालयमा उजुरी परेको छ ।