काठमाडौं । आज संघीय संसदअन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल हुने छ ।
त्यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।