काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका ५ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका–२ दिदिङ घर भई काठमाडौं ज्याठा बस्ने २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोट तादी नगरपालिका–१ उर्लेनी घर भई काठमाडौं ठहिटी बस्ने २१ वर्षीय रंजित तामाङ, तनहुँ आँबुखैरेनी गाउँपालिका–१ सत्रसय घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय कृष्णबीर मगर भन्ने कृष्पिन थापा, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ घर भई काठमाडौं बालाजु बस्ने २६ वर्षीय सोनु लामा र २१ वर्षीया राधा लामा रहेका छन् ।
काठमाडौं महानगरपालिका–२६ ठमेल जेपी मार्गस्थित कर्मा क्लब नजिकै एक जना पुरूष व्यक्तिलाई गत कात्तिक १६ गते राति ज्यान मार्ने उद्देश्यले रड, नक लगायत धारिलो हतियार प्रहार गरी घाइते बनाएको घटनामा प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।