Logo
Logo

सुदूरपश्चिमले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने


378
Shares


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफायर र एलिमिनेटरको समिकरण तय हुने खेल भएकोले आजको यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।

यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।

अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेको छ । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ ।

बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ । सुदूरपशिच्मि ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।

यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।

अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।

कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा हवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।

सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।

प्रतिक्रिया दिनुहोस्