काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिस्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए । केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटीको बैठक मंगलबार सम्पन्न हुने उनले बताए । खतिवडाले जनताको घर–घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जाने सहितको निर्णय हुने जानकारी दिए ।
त्यस्तै उनले आगामी निर्वाचनहरूमा समाजवादीलाई सशक्त प्रतिस्पर्धीको रूपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको र यसबारेको ठोस निर्णय पनि मङ्गलवार नै गर्ने उल्लेख गरे ।