Logo
Logo

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला चयन


252
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् ।

यही पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि सोमबारसम्म मनोनयन दर्ताको समय थियो ।

सोहीअनुसार अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उम्मेदवारी दिएका थिए ।

तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएपछि कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने भएका हुन् । पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएका छन् । तर, यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने भएका छन् । खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ चुनिने भएका छन् । खालिङ यसअघि पनि कार्यसमितिमा सदस्य थिए । यद्यपि नयाँ पदाधिकारी चयन भने पुस ३ मा बस्ने वार्षिक साधारणसभाबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्