काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुको खण्डन गरेकी छन् ।
आफुहरुमाथि मिडिया ट्रायल भएको भन्दै सामाजिक सञ्जालमार्फत उनले विभिन्न सञ्चारमाध्यममा रवि लामिछाने दम्पतिको बैंक खातामा करोडौंको कारोबार भएको भन्ने विषयमा प्रकाशित समाचारको खण्डन गरेकी हुन् । साथै उनले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको समेत बताएकी छन् ।
उनले भनेकी छन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’
आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझाइसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् ।
‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।’