जनकपुरधाम । धनुषामा ४० वर्षीया रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विदेह नगरपालिका–५ मुरिबाकी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई धनुषा प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
गत १८ मंसिर घाँस काट्न घरबाट निस्किएकी रामपरीदेवीको १९ मंसिरमा हत्या भएको अवस्थामा शीर र शरीर अलग-अलग अवस्थामा फेला परेको थियो ।
धनुषा प्रहरीका अनुसार शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला परेको थियो भने टाउको २०५ फिट पर कमला नहरस्थित झाडीमा फेला परेको थियो ।
घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल र अन्य सामग्री प्रहरीले बरामद गरेको थियो ।
घटना अनुसन्धानको क्रममा सगमलालको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
मृतक महिलासँग हत्याअघि सगमलालको फोन सम्पर्क हुने गरेको पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी तिवारीले बताए ।