जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा २३ असोजमा मृत भेटिएकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले उनलाई गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार अनुको हत्या उनका प्रेमी यादवले नै गरेको अनुसन्धानबाट खुलेको छ ।
असोज २३ गते अनुको शव भेटिएपनि एक सातापछि असोज २८ गते मात्र उनका बुबाले सनाखत गरेका थिए ।
प्रहरीका अनुसार अनु र मन्दीपबीच प्रेम सम्बन्ध रहेको थियो । दुवै जनाले विवाह गर्ने वाचा गरी असोज २२ गते टुटेश्वर मन्दिर गएका थिए । तर, टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाहको विषयमा दुवै जनाबीच विवादको क्रममा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरी फरार भएको स्वीकार गरेको डिएसपी जयसवारले बताए ।
मन्दीपलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।