बुटवल । गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम ठगी र हिनामिना गर्ने कसैले उन्मुक्ति नपाउने बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियनले रूपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको भन्दै अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन् ।
सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिलाई कार्वाही भएपनि एकजनाको बिषय मात्र चर्चामा आएको उनले बताए । गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको दावी गरे । उनले मिडिया र रविले भनेजस्तो अमर्यादित व्यवहार नभएको बताए ।
उनले मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने पनि बताए ।
गृहमन्त्री लेखक प्रश्न गर्दै भने, ‘दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको रकम खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो ?’ उनले रविलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लैजाने क्रममा जहाजमा जान नमानेको र चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क रहेको बताए ।
गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जिवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापुर्वक लागेको पनि बताए ।