काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५ ठेगाना भएका निराजन नेपाली पक्राउ परेका छन् । एनसीबी आबुधाबी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
निराजन नेपालीलाई सम्बन्धित कसूर बमोजिम कानुनी कारबाही लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । पक्राउ परेका निराजन नेपालीमाथि अमेरिका पठाइदिने भन्दै थुपै्र नेपाली युवाबाट लाखौँ उठाएर बिच बाटोमै अलपत्र बनाएको आरोप छ ।
अमेरिका पठाइदिने भन्दै निराजनलगायत पश्चिम रुकुमकै कृष्ण चन्द तथा नुवाकोटका बाबुलाल रुम्बा, गोविन्द थापा र राजेश बलामीले एक जनाबाट ७० देखि ८० लाखसम्म उठाउने गरेको एक पीडित बताए । तर, अहिलेसम्म निराजन मात्र पक्राउ परेका छन् ।
ती पीडितले उनीहरुविरुद्ध मानव बेचबिखन ब्यूरो र जिल्ला अदालत काठमाडौंमा समेत उजुरी दिइसकेको बताए । तर, निराजनबाहेक अन्य फरार रहेको उनले भन्दै मानव दलाललाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
दलालको प्रलोभनमा दुवईमा करिब ६ महिना बन्धक भइ नेपाल फर्केका ती पीडितले भने, ‘दलालमध्ये निराजन नेपालीमात्र पक्राउ परेका छन् । अरु दलालहरु फरार छन् ।’ उनले पटक पटक गरी आफूले दलाललाई २५ लाख रुपैयाँ बुझाएको बताए । उनले भने, ‘मासिक ५ लाखदेखि ७ लाखसम्म तबल हुने भन्दै उनीहरुले हामीबाट पैसा उठाए । तर, हामीलाई बिच बाटोमै अलपत्र बनायो ।’
उनले दुवई पु¥याएपछि बन्धन बनाएर राखेको बताउँदै भने, ‘यी दलालबाट पीडित बनेका थुप्रै नेपाली युवा अझै पनि दुवईमा अलपत्र परेका छन् । कतिपयलाई बन्धक बनाइएको छ । तर, म चाहिँ नेपाल प्रहरी, दूतावास र एनसीबी आबुधाबी यूएईको सहयोगमा नेपाल फर्कन सफल भएको छु ।’
उनले अझैपनि ती दलालबाट नेपाली युवा पीडित बनिरहेको बताउँदै मानव दलाललाई पक्राउ गरी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।