Logo
Logo

रविप्रति ओलीको कटाक्ष- कमिलाको समय सिद्धियो भने प्वाँख पलाउँछ


2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रवि लामिछाने सम्मिलित सरकार राणा र राजाको शासनकाल जसरी चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र रवि सरकारमा रहेका बेला ‘मौका मिलेका बखत देखाई दिने’ शैलीमा चलेको टिप्प्णी गरेका हुन् ।

‘राणाहरूले मौका मिलेका बखत राजाहरूलाई अधिकार वञ्चित गरेर थाङ्नामा राखेकै हो । राजाहरूले खुब कराउँछन् हामीलाई थाङ्नामा राख्या थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री भएका बेला शेरबहादुरजी (शेरबहादुर देउवा) लाई थुनामा राख्या होइन ? अस्ती ज्ञानेन्द्रका पालामा होइन यो ?’ माघ १९ को त्यो घटना १७ सालको जस्तै घोषणा र व्यवहार रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘अख्तियार पनि छोडेर एउटा नक्कली आयोग बनाएको थियो । राजनीतिक नेताहरूलाई फसाउनका लागि । मुद्दा मामिला लाएर, अपमान गरेर फसाउन कुरा पहिले महेन्द्रको पालामा अराष्ट्रिय तत्व भनेर मात्रै लगाएर थुनाउँथे, पछि त अनेक खालका आरोप लगाएर, भ्रष्टाचारी भनेर आरोप लगाउने,’ ओलीले भने ।

ठ्याक्कै यही शैली प्रचण्ड र रवि सरकारमा रहेका बेला देखिएको प्रधानमन्त्री ओलीले टिप्पणी गरे । उनले थपे, ‘यो कुरा अस्ती प्रचण्ड–रविवाला सरकार हुँदाखेरी पनि त्यस्तै उनीहरूले दोहोर्‍याउन खोजे ।’ प्रचण्ड र रविको त्यो शैली ‘कमिलाको आयु सकिए प्वाँख पलाउँछ भने जस्तै रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैं । अर्थात कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ, त्यल्ले टप्पटप्पटप्प एउटा हुलै चरा आएर टिपेर खाइदिन्छ ।’ प्रचण्ड र रविहरूले जथाभाबी बोल्न र गर्न थालेपछि जिम्मेवार दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएर गठबन्धन गरेको प्रधानमन्त्री ओलीले दाबी गरे ।

‘यिनीहरूले जथाभाबी बोल्न थाले, जथाभाबी गर्न थाले । अस्थिरता, अन्योल देशमा, भ्रष्टाचार कुनै सीमा रहेन,’ उनले भने । ‘एमाले र कांग्रेस जस्तो पार्टी हुँदाहुँदै कसका के नाच हुन् यी ? कांग्रेस ट्वाँ परेर हेरिराछ, एमाले ट्वाँ परेर हेरिराछ ! फर्‍याक फुरुक्क नाच्ने अरू छन् कलाकार बनेर धूमधाम छ । के हो यो ? जनताले भन्न थाले,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि हामी यसो कुरा गरेर यो त साह्रै भयो स्थिरता तिर, स्थायित्वतिर देशलाई लैजान यो गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्