काठमाडौं । देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले अपराधजन्य घटना बढेको जानकारी गराए ।
प्रहरीको तथ्याङ्कअनुसार दैनिक औसतमा एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको छ । जसमा आत्महत्याका २० र जबरजस्ती करणीका सात वटा मुद्दा हुने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्तव्य ज्यानसम्बन्धी एक सय ९३ वटा मुद्दा दर्ता भएका छन् । गएको वर्ष यही अवधिमा एक सय ९२ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म आठ सय २३ वटा मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा आठ सय नौ वटा मुद्दा दर्ता भएका थिए । सङ्गठित अपराधमा गएको वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ वटा मुद्दा दर्ता भएका छन् ।
लागूऔषधसम्बन्धी मुद्दा गएको आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार तीन सय ६९ रहेकोमा अहिले बढेर एक हजार ६ सय १९ पुगेको छ ।
सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।