काठमाडौं । एनआईसी एसिया बैंकले श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका-१ मा अवस्थित सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको हो ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरेको हो ।
यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेको बैंकले जनाएको छ ।
त्यसै गरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगन्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको बैंकले जानकारी दिएको छ ।