काठमाडौं, २९ जेठ ।
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर भएको छ । सामान्यतया एक वर्षमा सरुवा हुनेमा अवधि नपुगी भएको जिम्मेवारी हेरफेरलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरुवाअनुसार प्रहरी एकेडेमीमा नारायणबाबु थापा, मानवस्रोतमा पुष्पराम केसी तथा कार्यमा रामशरण पौडेललाई जिम्मेवारी दिइएको छ ।
सशस्त्र प्रहरीमा आईजिपी शैलेन्द्र खनाल र एआईजी पुष्पराम केसीबीच टक्कर चल्दै आएको छ । त्यसकारण खनालले केसीलाई मुख्यालय ल्याउन चाहेका थिएनन् । उनको इच्छाविपरीत मन्त्रिपरिषद्बाट सरुवा भएपछि आईजिपी खनाल कमजोर बन्दै गएको प्रष्ट भएको छ ।
सरुवाको तयारी थाहा पाएपछि उनले रोक्ने प्रयास गरेका थिए । सामान्यतया मानवस्रोतमा आईजिपीको ‘यसम्यान’लाई राख्ने गरिएको छ । अब खनाल र केसीबीच टक्कर पर्ने देखिएको छ ।
स्रोतका अनुसार उनको नेकपाका अध्यक्ष प्रचण्डसँग घनिष्ट सम्बन्ध छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रुचाएका छैनन् । दुई वर्षको कार्यकालमा सशस्त्र प्रहरीमा कुनै उल्लेख्य सुधार गर्न नसकेको आरोप खनालमाथि छ ।