Logo
Logo

विद्युत् प्राधिकरणले माग्यो १ हजार ८३ कर्मचारी


2.1k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा विभिन्न पदका लागि १ हजार ८३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला÷समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन आह्वान गरेको हो ।

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ ।

अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोत्तर उत्तीर्णले दरखास्त दिन पाउनेछन् ।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण ले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ ।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १÷१ जना माग गरिएको छ । प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियालोजिस्ट २÷२ जना माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्