पूर्व राजा ज्ञानेन्द्र शाहले कात्तिकमा ४ दिने भुटान भ्रमण गरे । उनले भुटानको राजपरिवारसँग विशेष भेटघाट गरे । त्यसको डेढ महिनापछि बौद्ध राष्ट्र भुटानका राजा जिग्मे केशक नाम्गेल वाङचुक भारतको औपचारिक भ्रमण गरे । त्यहाँबाट उनी नेपाल हुँदै भुटान फर्किए ।
तीर्थयात्रीका रुपमा उनको केही घण्टाको नेपाल बसाइँ आफैमा महत्त्वपूर्ण सन्देश थियो । राजा जिग्मेको नेपालको पूर्वराजपरिवारसँगको पछिल्लो निकटतालाई परम्परागत नातासम्बन्धसँग मात्र जोडेर हेर्न मिल्दैन । राजाको हरेक भ्रमण र भेटघाट पनि राजनीति हुन्छ । जिग्मे जन्मस्थान सम्झिएर र बौद्ध र स्वयम्भूको दर्शन गर्न मात्र पक्कै नेपाल आएनन् ।
नेपालको राजनीतिमा ठूलै हलचल आउने गरी घटना विकास भइरहेको पछिल्ला घटनाक्रमले देखाइरहेको छ । ठिक यही बेलामा प्रमुख दलका प्रभावशाली नेता बदनाम भइरहेका छन् । उनीहरूबाट भएका नीतिगत भ्रष्टाचारका फेहरिस्त सार्वजनिक भइरहेका छन् । भ्रष्टाचार चरमचुलीमा छ । नेताहरूबाट राज्य शक्तिको दोहन चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दमकको भ्यु टावर भन्दा अग्लो उनको पालामा भएका नीतिगत भ्रष्टाचारको चाङ रहेको तात्तातो बहस सामाजिक सञ्जाल र चियापसलहरुमा चलिरहेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई त अर्को महाधिवेशनमा विधान परिवर्तन गरेर आफै सभापति बन्नु छ या आफ्नी पत्नी आरजु देउवाको राजनीतिक भविष्य सुनिश्चित गर्ने गरी कुनै पात्र तयार गर्नुछ काँग्रेसभित्र ।
स्वयं आरजुसँग जोडिएका काण्डहरु बुढानिलकण्ठको कम्माउन्डभन्दा फराकिलो भइसकेका छन् । प्रचण्ड केही हौसिएका छन् तर उनलाई पनि जनताले स्विकार्ने परिस्थिति गुज्रिइसकेको छ । म्युजिकल चियरमा आलोपालो प्रधानमन्त्री बनिरहेका ओली, देउवा र प्रचण्डले अहिलेको व्यवस्था नै आफूहरू हो भनेजसरी राजनीति गर्नुले व्यवस्था नै खतरामा पर्दै गएको छ ।
एक्ला दुर्गा प्रसाईँले ओलीलाई हायलकायल पारे । एमाले कार्यकर्ताको मनोबल इतिहासमै यो हदसम्म कहिले गिरेको थिएन । रवि लामिछानेको पखेटा काटिदिएको भ्रम ओलीले पालेका छन् । तर यो उनकै लागि प्रत्युत्पादक बन्ने देखिन्छ । एक अर्काबीच लड्ने र लडाउने खेलमा नेताहरू लागिरहँदा देशको अर्थतन्त्र खोक्रो बनिरहेको छ ।
जताततै पानी भएर पनि काकाकुल हुनुपरे जस्तै बैंकमा थेगिनसक्नुको पैसा जम्मा छ सर्वसाधारणसँग पैसा छैन । महँगी जनतालाई थाहा छ सरकारलाई छैन । सहकारी ठगहरूले योजनाबद्ध तरिकाले विदेशमा पैसा पु¥याइसके । भ्रष्टाचारको रकम बिदेसिएको छ ।
ठूलो घूसको लेनदेन युएई, सिंगापुर र हङकङमा हुन थालेको अख्तियार प्रमुख प्रेम राईले सार्वजनिक रूपमै भनिसके । अवस्था भयावह बन्दैछ । तर, हुक्के, बैठके, चाकडीवाज र चाप्लुसीवाजको घेराबन्दीमा रहेका नेताहरुले जनताको असन्तुष्टिलाई बुझ्न चाहेका छैनन् । असन्तुष्टि आक्रोश बनेर कुनैपनि बेला विस्फोटक बन्न सक्छ । जसलाई उनीहरूले थेग्न सक्ने छैनन् ।
नेताहरू शक्ति राष्ट्रको सुरक्षा छाता ओढेर बसे पनि भाग्नुपर्ने अवस्था आउँछ भन्ने सिरियाको घटनाले देखाइसकेको छ । बसरअल असद देश छाडेर रुस पुग्न बाध्य भए । जनताको विद्रोहका बाबजुद रुसले उनलाई एक दशक त थेग्यो तर सकेन । शेख हसिनाले पनि बंगालदेश छाड्न बाध्य हुनुप¥यो । भारतले उनलाई लामो समय साथ दियो तर थेग्न सकेन ।
श्रीलंकामा राजापाक्षे परिवार नै भागे । शक्तिराष्ट्रले जतिसुकै साथ दिँदा पनि राजापाक्षे परिवारको पतन भयो । बदलिँदो विश्व व्यवस्था र शक्ति राष्ट्रको टकराबमा शासनसत्तामा बलियो पकड बनाएकाहरू भाग्नेसम्मको घटनाहरू एकपछि अर्को घटिरहेका छन् । यसमा पनि दक्षिण एसियामा बढी देखिइरहेको छ । जसको असर नेपालमा पनि पर्ने देखिँदै छ ।
क्षेत्रीय शक्तिको रुपमा रहेको भारतले आक्रामक विदेश नीति कार्यान्वयनमा ल्याएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले नेहरु कालिन विदेश नीति परिवर्तन भइसकेको बताइसकेका छन् । उनको भनाई त्यतिबेला आयो, जतिबेला भारतको सत्तारुढ भारतीय जनता पार्टी अमेरिकासहित पश्चिमा योजनामा चल्ने जर्ज सोरसको संस्था र त्यससँग जोडिएका पात्रहरुप्रति कठोर रुपमा प्रस्तुत भइरहेको छ ।
सोरसको सिधा सम्बन्ध अमेरिकाका विभिन्न निकायसँग रहेको र त्यसमार्फत् भारतको सत्तारुढ भाजपा, अरबपति गौतम अडानीलगायतविरुद्ध गतिविधि गराइएको भाजपाले ट्वीटमार्फत् सार्वजनिक गरिरहेको छ । कँग्रेस आईका नेता राहुल गान्धीलाई त सोरसको योजनामा चल्ने पात्रका रुपमा भाजपाले प्रस्तुत गरेको छ ।
अरबपति सोरसको ओपन सोसाइटीको संयन्त्रले दक्षिण एसियामा मिडिया र सामाजिक संस्थामार्फत् प्रभाव जमाएर नियोजित राजनीतिक, आर्थिक र सामाजिक एजेन्डा लादिरहेको विषयहरु बाहिर आइरहेका छन् ।
यी विषयहरुलाई लिएर भारतको विपक्षी कँग्रेस आईले भाजपाको कूटनीतिक अक्षमता भनेको छ । तर, जयशंकरले नेहरुकालिन विदेश नीतिभन्दा भारत फरक ढंगले बढिसकेको जवाफ दिएर दक्षिण एसियामा अमेरिकालगायत पश्चिमा शक्तिको बढ्दो सक्रियताको खरो रुपमा सामना गर्ने सन्देश दिइसकेका छन् । यसको असर नेपालमा पनि देखिन सक्छ ।
नेपालमा प्रत्यक्ष शासन गर्ने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पतनसँगै धर्मनिरपेक्ष घोषणा भयो । यसमा भाजपा असन्तुष्ट रहेको प्रस्ट छ । धर्मनिरपेक्ष पश्चिमा योजनामा भएको थियो भन्ने छर्लङ्ग भइसकेको छ । यसका लागि विभिन्न संघसंस्थाकामाध्यमले मिडिया र सामाजिक संस्थामा अरबौँको लगानी भएको तथ्य र तथ्याङ्कहरू आइसकेका छन् ।
यस्ता तथ्यहरूले योजनाबद्ध तरिकाले पश्चिमा एजेन्डा लागू गर्न सक्रिय भएकाहरूलाई त्रसित पनि बनाएको छ । ठिक यही बेलामा अहिलेको व्यवस्था ल्याउन भूमिका खेल्ने नेताहरू अलोकप्रिय बन्दै गएका छन् ।
उनीहरूलाई जसले जति धोइपखाली गरेपनि धब्बा नहट्ने भइसकेका छन् । पात्र त बदनाम नै छन् प्रवृत्ति झन् डरलाग्दो भएको छ । गिरिबन्धु, भुटानी शरणार्थी, ललिता निवास, क्यासिनो घूस काण्ड, न्यायाधीश बनाउँदाका घुसकाण्ड, सहकारी ठगी, एनसेल कर छली, विद्युत् महसुल काण्डजस्ता काण्डैकाण्डले बदनाम छन् ।
यसैका लागि यो व्यवस्था आएको रहेछ भन्ने भान जनतामा पर्न थालिसकेको छ । नेताहरू सुध्रिने छाँट छैन । ओली र देउवालाई बलिया पार्टी मिलेर झन् बलियो भएको अहंकार छ । ओलीले त शक्तिमा आएपिच्छे व्यवस्था माँस्ने भष्मासुरको भूमिका खेल्दै आएका छन् ।
देउवा दम्पती त काण्डैकाण्डले बदनाम छन् । नयाँ आएका रवि लामिछानेलाई सहकारी ठगको धब्बा लगाइदिइसके । यसले माहोल व्यवस्थाकै लागि घातक बन्दै गएको छ । नेपालका दुई छिमेकी चिढ्याउने शक्तिहरू छद्म र खुलेआम दुवै रुपमा सक्रिय रहनु र तिनकै प्रभावबाट मुख्य नेताहरू मुक्त हुन नसक्नुले उल्टो नतिजा दिन सक्छ ।
विभिन्न बहानामा नेपालमा अमेरिका, चीन, भारत, बेलायत, युरोपेली युनियनलगायतबाट अधिकारीहरूको भ्रमण त हुन्थ्यो नै अहिले त अरबी मुलुक र भुटानबाट समेत भ्रमण हुन थालेको छ । त्यस्ता भ्रमणलाई हल्का रुपमा लिन मिल्दैन । अर्कोतर्फ, छिमेकीहरू भारत र चीनको आक्रामक विदेश नीति संसारभर देखिइसकेको छ । उनीहरू छिमेकमा अन्य शक्तिको बढ्न सक्ने प्रभावलाई टुलुटुलु हेरेर पक्कै बसेका छैनन् होला ।
त्यस्तो मैदान दिलाउने राजनीतिक नेतृत्वले देशलाई संकटमा धकेल्दै लगेका छन् । बहुमतको दम्भ गर्दागर्दै बेलुन फुलेर पड्के जसरी पड्कनुपर्ने अवस्था आउन सक्छ तिनको राजनीतिको । यसले कुनै पनि बेला व्यवस्था नै संकटमा जान सक्छ । न नेतालाई तिनको भरथेग गर्ने शक्तिराष्ट्रले थेग्नेछ न व्यवस्थालाई नै बचाइदिनेछ । उनीहरू आफ्नो स्वार्थअनुसारको पात्रसँग सम्पर्क गरिहाल्छन् र सम्बन्ध कसिहाल्छन् । बंगलादेश होस् या सिरिया यही भयो ।