Logo
Logo

सुदुरपश्चिम पुगेर नेता कोइरालाले भने- कांग्रेसलाई एक्लै लड्न सक्ने पार्टी बनाउँछु


504
Shares

धनगढी । नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने बताएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ’ नेता कोइरालाले भने, ‘त्यसको जिम्मा म लिन्छु ।’

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु ।’

उनले नेताहरुलाई भने, ‘बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनुभएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिनँ । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ ।’
नेता कोइरालाले भने, ‘महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।’

सोही अवसरमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको दाबी गरे । उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नैपर्छ ।’ यद्दपी, सरकारको कार्यशैली भने सन्तोषजनक नभएको उनले बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको बताए ।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो । नेता कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ वटै जिल्लालाई सम्बोधन समेत गरेका थिए ।

भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित भएको गुनासो गरेका थिए । १५औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनीहरुले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्