Logo
Logo

सतहमा नेविसंघको विवाद, शेखर पक्षले तोक्यो छुट्टै केन्द्रीय प्रतिनिधि


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा संस्थापन र संस्थापनइतर बीचको विवाद सतहमा आएको छ । केन्द्रीय प्रतिनिधि तोक्ने विषयमा यी दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर १२औं महाधिवेशन गर्न सदस्यता वितरण सहजीकरण गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका छन् ।

नेविसंघमा नियमित महाधिवेशन हुन सकेको छैन । पार्टीले महाधिवेशनको जिम्मेवारीसहित तदर्थ समिति बनाउँदै आएको छ । दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघ तदर्थ समितिमा ७१० जना केन्द्रीय सदस्य छन् ।

अध्यक्ष शेर्पाले पुस २ गते सदस्यता वितरणका लागि भन्दै ११३ सदस्य केन्द्रीय प्रतिनिधि तोकेका थिए । केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग एकलौटी गरेको भन्दै नेता शेखर कोइरालानिकट नेविसंघले छुट्टै केन्द्रीय प्रतिनिधि तोकेको हो ।

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रमिका राना मगरले पुस ५ गते विज्ञप्ति निकालेर ७७ वटा क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेकी छन् । कांग्रेसले चैतभित्रै नेविसंघको १२औं महाधिवेशन गर्न निर्देशन समिति पनि बनाएको छ । तर, नेविसंघमा विवाद हल हुन सकेको छैन ।

नेविसंघ संस्थापन पक्षले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापानिकट नेविसंघ केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ । तर त्यसविरूद्ध कोइरालानिकट नेविसंघले विरोध गर्दै आएको छ ।

पुस ७ गतेदेखि केन्द्रीय प्रतिनिधिहरू क्याम्पस पुगेर सदस्यता वितरण र इकाइ अधिवेशन गर्ने तालिका छ । तर एकै क्याम्पसमा दुई केन्द्रीय प्रतिनिधि तोकिएकोले कुन आधिकारिक हुने भन्नेमा विवाद देखापरेको छ ।

अध्यक्ष शेर्पाले अग्रसरता देखाएको भन्दै केन्द्रीय सदस्य राना मगरले पार्टी निर्देशक समिति र केन्द्रीय समितिबाट छानबिनको माग गर्दै पुस ४ गते विज्ञप्ति निकालेकी थिइन् । संस्थापन पक्षले भने आइतबारदेखि सदस्यता वितरण अभियान सुरू गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्