काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङसहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो ।
प्रमुख कमला काफ्लेले लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोग पत्र दायर गरिएको जानकारी दिए ।
लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पु¥याइएको थियो ।
शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो ।
दोस्रो चरणको अनुसन्धानमा छविलाल जोशी असोज ६ गते र लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो ।