Logo
Logo

इपिएस भाषा परीक्षा दिने ३ हजार बढी युवा पास


504
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो ।

यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मङ्गलबार सकिएको थियो । दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ ।

शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएको हो । १० महिनामा तीन चरणको परीक्षण सम्पन्न भएको हो ।

सो शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले भाषा परीक्षामा उत्तीर्णको सिप परीक्षाको समय तालिका यही साताभित्र सार्वजनिक गर्ने जानकारी दिए ।

उनका अनुसार तीन चरणमा लिएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने छ । पहिलो र दोस्रो चरणमा उत्तीर्ण युवा हाल रोस्टरमा रहेको र केही कोरिया गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्