काठमाडौं । संघीय संसदअन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्या सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।