Logo
Logo

राजनीतिको बर्को ओढेर अपराधमा संलग्न तरुण दलका नेता पक्राउ


1.4k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आपराधिक समूहलाई पक्राउ गर्नेक्रममा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका एकजना केन्द्रीय सदस्य पनि पक्राउ परेका छन् ।

शुक्रबार दरबारमार्गस्थित लिक्विड लाउञ्ज बारमा एक युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा तरुण दलका केन्द्रीय सदस्य काभ्रेका कुलध्वज तामाङ पक्राउ परेका हुन् । कुलध्वजसँगै पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका कुलध्वज तामाङ, काभ्रेकै भुल्लुका लालबहादुर तामाङ, काभ्रेकै मिलन लामा, सुलभ पहरी, युवराज लामा, मोरङको उर्लाबारीका डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकका दावा तामाङ र काभे्रका शक्ति लामा छन् ।

उनीहरूले बैतडीका रमेश भट्टमाथि शुक्रबार राति बारमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्य कुलध्वजसहित सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रहरी अनुसन्धान शुरु भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका कुलध्वज यसअघि समेत ज्यान मार्ने उद्योग र डाँकाचोरीमा जेल सजाय पाएर छुटेका थिए । उनी अपराधलाई ढाकछोप गर्न राजनीतिमा प्रवेश गरेको आशंका छ । यसअघि २०६९ सालमा पनि दरबारमार्गकै एउटा क्लबमा युवकमाथि कुटपिट गरेको आरोपमा कुलध्वजविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।

त्यसपछि पनि उनी ०७२ सालमा काभ्रेमै बुद्धचित्तको माला लुटपाटको घटनामा ११ महिना जेल बसेका थिए । जेलबाट छुटेपछि दरबारमार्गस्थित लिक्विड लाउञ्ज बारमा गत शुक्रबार युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पुनः पक्राउ परेका छन् ।

उनीलगायत अन्य आरोपी समेत तरुण दलमा आबद्ध रहेको प्रहरीको भनाई छ । पक्राउ अन्यलाई पनि अदालतको अनुमतीले ज्यान मार्ने उद्योग अपराधमा अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्