काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल बहादुर थापा अहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टी राजनीतिमा सक्रिय रहँदारहँदै राष्ट्रपतिको सल्लाहकार नियुक्त भएका थापा राजनीतिबाट निस्क्रिय बस्ने घोषणा गरेका उनी आफ्नै प्रतिबद्धता बिपरीत सक्रिय राजनीति गर्दैआएका छन् ।
गएको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट पराजीत भएका थापा अहिले सरकारी खर्च र गाडी दुरुपयोग गर्दै कांग्रेसको जिल्ला राजनीतिमा उत्तिकै सक्रिय देखिएका छन् ।
राष्ट्रपति पदमा पुगेपछि पार्टीकै नेतासमेत राजनीतिबाट अलग हुुनुपर्छ । तिनका सल्लाहकार पार्टी राजनीतिमा सक्रिय हुन मिल्दैन । तर थापा संवैधानिक राष्ट्रपतिको सल्लाहकार भएर निर्लज्जरुपमा पार्टी राजनीतिमा सक्रिय भइरहेका छन् ।
जसलाई राष्ट्रपति कार्यालयले समेत उचित मानेको छैन । यसअघि राष्ट्रपतिको सल्लाहकार भएर काम गरेका प्राडा चिरन्जीवी नेपाल कूटनीतिक मर्यादाबिपरीत दिएको अभिब्यक्तिका कारण विवादमा परेर राजीनामा दिन बाध्य भएका थिए । तर राजनीतिक कार्यक्रममा कांग्रेसको नेताको रुपमा सहभागी हुने थापालाई भने राष्ट्रपतिले समेत छुट दिनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
सरकारी सुविधा दुरुपयोग गरेर जिल्लामा कहिले मन्दिर शिलान्यास, उद्घाटन र खानेपानीको पाइप बितरण, पहिरो आगलागी पीडितलाई राहत बाँड्ने र जनतासँग प्रत्यक्ष भेटघाट गर्ने बहानामा घरदैलो अभियान चलाउँदैआएका थापा आइतबार धनकुटाको पाख्रिवास नगरपालिका–७ र ८ नम्बर वडाको नेपाली कांग्रेसको १ सय दिने विशेष अभियान कार्यक्रममा सहभागी भएर राष्ट्रपति कार्यालयलाई समेत विवादमा पार्ने काम गरेका छन् ।
धनकुटाका एक कांग्रेस नेताका अनुसार उहाँ(थापा) बिभिन्न बहाना बनाएर पार्टी राजनीतिमा सक्रिय हुँदैआउनुभएको छ । यो राजकीय पदको दुरुपयोग हो भन्दा आफूलाई त्यसले केही असर नगर्ने बताउनुहुन्छ । जसका कारण धनकुटामा कांग्रेसकै बदनाम भएको छ । स्रोतका अनुुसार २०८४ को चुनावअगाडि ६ महिने मन्त्री बन्ने र पार्टीको टिकट लिएर झन्डा हल्लाउँदै चुनाव जित्ने दाउमा छन् ।
भारतीय संस्थापनको दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्ति गरेको चर्चा हुँदैआएको छ । जीवनको ठूलो कालखण्ड अन्तर्राष्ट्रिय नियोगमा जागिर खाएका थापा उत्तराद्र्ध बाबु सूर्यबहादुर थापाको जोडबलमा राजनीतिमा ल्याइएका हुन् ।
सूर्यबहादुरको निधनलगत्तै कांग्रेसमा प्रवेश गरेका थापा र राष्ट्रपति पौडेलबीच चिनजानसमेत राम्रो नभएको अवस्थामा देउवाले भिटो प्रयोग गरी पद दिलाएका हुन् । उनको पछिल्लो राजनीतिक सक्रियताप्रति राष्ट्रपति पौडेलसमेत सन्तुष्ट नभएको बताइन्छ ।
२०७९ को संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट बाबु सूर्यबहादुर थापा नै चुनाव प्रचारमा गाउँ गाउँमा गएर ‘आफ्नो मुख हेरेर मत दिन’ भनेकाले उनले चुनाव जितेका थिए ।
त्यसपछिका चुनाव उनले जत्न सकेका छैनन् । गएको २०७९ मंसिर ४ मा भएको निर्वाचनमा माओवादीसहितका पार्टीको गठबन्धन हुँदा पनि सुनिल थापा एमालेका राजेन्द्र राईसँग पराजीत भएका थिए ।