काठमाडौं । संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।