काठमाडौं । भक्तपुरको बालकोटस्थित एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको छ । सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।
उनले प्रारम्भिक सोधपुछका क्रममा पारिवारिक तनावका कारण आफूले हत्या गरेको बयान दिएका छन् । ‘म पनि धेरैपटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ सोधपुछमा आबद्ध एक प्रहरीले उनलाई उद्धृत गर्दै भने, ‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’ हत्यापछि आफूले पनि आत्महत्या गर्ने योजना बनाएको, तर असफल भएको उनले प्रहरीमा बताएका छन् ।
मिलनले आफैँले हत्या गरेको स्वीकार गरेपनि घटना सम्बन्धमा विस्तृत अनुसन्धान थालिएको एसएसपी भट्टराईले बताए ।
प्रारम्भिक अनुसन्धानमा सुतिरहेकै अवस्थामा उनले हत्या गरेको देखिन्छ । हत्यापछि राति नै उनी घरबाट निस्किएका थिए ।
खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य हुलाक कार्यालय दिक्तेलका निमित्त कार्यालय प्रमुख हुन्।
कार्यालयकै कामले पाँच दिनअघि काठमाडौं आएका उनी छोराहरूको डेरामा बसेका थिए । शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन् । शनिबार बिहानदेखि कोठा बाहिरबाट बन्द थियो । सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार ढोका खोल्दा बाबुछोराको शव भेटिएको थियो ।