विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा भेटिएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक रहेका छन् ।
मंगलबार मोरङको जहदा गाउँपालिका–३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका–२ स्थित बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।
स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलामाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको खुलेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए ।