रुपन्देही । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्न सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरु गरिसकेको बताएका छन् ।
बुधबार रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले असार १७ मा भएको ७बुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल बनेको बताए । कांग्रेस र एमालेले बनाएको कार्यदलले संविधानमा के–के विषय संशोधन गर्ने भन्नेबारे आन्तरिकरूपमा तयारी गर्ने उनको भनाइ छ ।
उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।’
मन्त्री सिंहले रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँञ्चाइ योजनाको उद्घाटन गरेका छन् । पर्यटन करिडोर र लिफ्ट सिँञ्चाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले बताए । लिफ्ट सिँञ्चाइ आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँञ्चाइ सुविधा पुग्नेछ ।