नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ । सन् ७१९ मा कोरियाली गुरु हेछो लुम्बिनी पुगेको अभिलेख छ । यद्यपि दुई मुलुकबीच कूटनीतिक सम्बन्ध भने १५ मे १९७४ मा भएको थियो । त्यसैवर्ष गणतन्त्र कोरियाले काठमाडौंमा आफ्नो दूतावास खोलेको थियो भने नेपालले सन् २००७ मा मात्रै सियोलमा दूतावास स्थापना ग¥यो ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र पारस्परिक सहयोगमा आधारित छ । नेपाल र कोरियाबीच ३० मार्च २००५ मा भएको सांस्कृतिक सम्झौताले दुई देशबीचको संस्कृति, कला, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोगको प्रवद्र्धन र विकास गर्ने उद्देश्य राखेको छ ।
सन् २०२४ दुई मुलुकबीचको सम्बन्धको एक ऐतिहासिक स्वर्ण उत्सव मनाइरहेका छौंँ । केही वर्षयता कोरिया नेपाली कामदारहरुको मुख्य गन्तव्य मुलुक बनेको छ । यस वर्षको जुलाईको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९ हजार ४३८ रहेको छ, जसमध्ये कामदारको संख्या ५३ हजार ४८४ (इ ७) भिसा अर्थात दक्ष कामदार छ हजार ५५४ र रोजगार अनुमति प्रणाली (एपिएस) अन्र्तगत कामदारहरू अर्थात् (इ ९) भिसामा ४६ हजार ९३० रहेका छन् । यस्तै उहाँ अध्ययनका लागि गएका विद्यार्थीको संख्या छ हजार ३३४ रहेको छ ।
नेपाल र कोरियाबीच परामर्श संयन्त्र स्थापना गर्न २००१ अक्टोबरमा विदेश मन्त्रालयहरूबीच सम्झौता भएको थियो । संयन्त्रले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्न र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ प्रवद्र्धन गर्न योगदान दिएका छन् । समयसमयमा संयन्त्रका बैठक बस्ने गरेको छ । दुबै देशमा उच्चस्तरीय भ्रमणहरू भइएका छन् । नेपालमा पनि कोरियाबाट उच्चस्तरीय भ्रमण भएका छन् । कोरिया गणतन्त्रबाट पनि सन् २००९ मा परराष्ट्रमन्त्री यु म्युंग–ह्वानसहित विभिन्न समयमा उप–परराष्ट्रमन्त्रीहरू, संसदको माथिल्लो सदनका सभामुखलगायतको भ्रमण भएको छ ।
नेपालको आर्थिक समृद्धिमा कोरियाली सहयोग
नेपालको आर्थिक समृद्धिमा कोरिया सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ । कोरिया नेपालका शीर्ष पाँच लगानीकर्ताहरूमा पर्दछ । कोरियाली लगानीकर्ताहरूले नेपालमा मुख्यतः जलविद्युत्, निर्माण र सेवा क्षेत्रमा लगानी गरेका छन् ।
नेपालमा कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र हुन्डाईले उत्पादन शुरु गरेका छन् । नेपाल र कोरियाबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरू छन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको शुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको छ ।
नेपाल र कोरियाबीच २३ जुलाई २००७ मा एपिएस सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले नेपाली कामदारहरूलाई कोरियामा काम गर्ने प्रणालीको व्यवस्था गरेको छ । दुई देशबीच अनुदान सहायतासम्बन्धी फ्रेमवर्क सम्झौता, नेपाल–कोरिया आर्थिक÷प्राविधिक सहयोगजस्ता द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस्तै कोरिया गणतन्त्रले सन् १९७६ देखि नेपाललाई आफ्नो विकास सहयोग प्रदान गर्दै आएको छ । कोरियाले अनुदान सहायता र प्राविधिक सहयोग गर्दै आएको छ । कोरियाले मध्यमस्तरका प्राविधिक जनशक्तिलाई स्वयंसेवकको रूपमा नेपालमा खटाउने गरेको छ ।
नेपालले कोरियाबाट विभिन्न लाभ लिनसक्ने स्थिति छ । तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचेजति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ । खासगरी उच्चस्तरीय भ्रमण हुन नसक्नु, कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसक्नु तथा नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र स्पष्ट दृष्टिकोण दिन नसक्दा पनि सोचेजस्तो लगानी भित्र्याउन सकिएको छैन ।
अगामी मार्गचित्र
दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रुपमा काम गर्नुपर्दछ । राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो । नेपाल सरकारले मलाई गणतन्त्र कोरियाको राजदूतको जिम्मेवारी दिँदै गर्दा दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पु¥याउन मेरा केही प्राथमिकताहरु रहेका छन् ।
क. उच्चस्तरीय भ्रमणमा जोड : नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण
वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । साथै, कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ ।
ख. नेपालमा लगानी तथा निर्यात वृद्धि : नेपाल र कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ३ सय ५० भन्दा बढी कोरियालीले नेपालमा उद्यम गरिरहेकाले नेपालमा लगानीको वातावरण बनाउन सम्भव देखिएको छ । कृषिको यान्त्रीकरणका लागि पहल गरिनेछ । कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु । नेपालमा लगानी गर्न इच्छुक मझौला उद्योगहरूलाई सहजिकरण गर्ने तथा नेपालको निजी क्षेत्रसँग समन्वयको कार्य गर्नेछु । चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार, लगायत सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्नेलगायतका विषयमा सहयोगको प्रस्ताव लैजाने योजना बनाएको छु ।
नेपाल कोरियाको सहायता सूचीमा रहेकोले आर्थिक सहयोग विकास कोष (इडिसिएफ) मार्फत प्राप्त हुने रकम न्यून ब्याजमा लिने र यहाँको पूर्वाधार क्षेत्रमा लगानी गर्न मेरो पहल रहनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीलाई अझै व्यापक र विस्तार गर्न सकिन्छ । नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान तथा नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रवद्र्धनका लागि आवश्यक पहलको खाँचो रहेको छ । दुई देशबीच भएका व्यापार सम्झौताको कार्यान्वयन, भन्सार प्रक्रियाको सहजीकरण, व्यावसायिक भ्रमणको आयोजना गर्नुपर्नेछ ।
ग. पर्यटन प्रवर्द्धन : लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन सकिएमा यहाँ पाँच सय मिलियन बौद्धमार्गीको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन सकिन्छ । लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनको खाँचो छ । अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक शहरको रुपमा विकास गर्ने उल्लेख छ । दुवै देशमा बौद्ध धर्मका आदर्शहरूमा आधारित सांस्कृतिक मूल्यहरूको समानता छ ।
नेपाल कोरियाली पर्यटकहरूको लागि सबैभन्दा रुचाइएको गन्तव्यमध्ये एक हो । सगरमाथा र लुम्बिनी–बुद्धको जन्मस्थल कोरियाली पर्यटकहरूको लागि मुख्य आकर्षण हुन् । हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १०औँ स्थानमा रहेको छ । सन् २०२३ मा २३ हजार सात सय ४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
साहसिक पर्यटन र परोपकारी गतिविधि कोरियाली नागरिकहरूको ठूलो योगदान रहेको छ । झन्डै दुई करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकामा नेपालमा ३० हजार मात्र आउने गरेका छन् । तथ्याङ्कअनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ विलियन अमेरिकी डलर खर्च गरेका छन् । त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो । तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ ।
नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान गर्न जरुरी छ । कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिनेछ । कोरियन एयरले सोल–काठमाडौं हप्ताको तीनदेखि चार उडान गर्ने र भाडा समेत महङ्गो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ । कोरियन एयरसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन, कोरियन पर्यटकलाई नेपाल भित्र्याउन, नेपाली नागरिकका सस्तो मूल्यमा कोरिया उडान हुने वातावरण तयार गर्न नेपाल वायुसेवाको उडान अनिवार्य शर्त हो । उडान सञ्चालन भएमा कामदारको भाडा कम हुने, पर्यटकको संख्या बढ्ने तथा नेपाल वायुसेवा निगमको ब्यापार बढ्नेछ ।
घ. श्रम तथा रोजगार : दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो । इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ । करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन् ।
यसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ । इपिएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार, मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि तनाव व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
ङ. शिक्षा : दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको छ । नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्नु पर्नेछ । नेपाली विद्यार्थीलाई आफ्नो सीप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्नेछु ।
च. संसदीय आदानप्रदान : दक्षिण कोरियाली संसदमा नेपालसम्बन्धी संसदीय मैत्री समूह गठन गरिसकेको छ भने नेपालको सङ्घीय संसदले पनि नेपाल कोरिया मैत्री समूह निर्माण गरेको छ । मैत्री समूहमार्फत संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । नेपाललाई कोरियाली नीति निर्माता र बौद्धिक समूहसँग जोड्न आवश्यक छ । महत्वपूर्ण निकाय (सरकारी कार्यालय, विश्वविद्यालय, बौद्धिक समूह, स्थानीय सरकार, सङ्घसंस्थाहरूबीचको सहकार्यमा सहजीकरण गरेर बलियो समन्वय स्थापित गर्ने मेरो पहल रहनेछ । कोरियाले अनुसन्धान र विकासका क्षेत्रमा हासिल गरेको उपलब्धिबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।
छ. प्रविधि र नवप्रवर्तन : दक्षिण कोरिया विश्वभरि प्रविधिको क्षेत्रमा अत्यन्त उन्नत र प्रभावशाली देशको रूपमा चिनिन्छ । कोरियाका कम्पनीहरू सामसङ, एलजीदेखि अटोमोबाइलको उत्पादनमा पनि कोरिया अग्रपंतिमा छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको विकास र प्रयोगमा कोरिया अग्रणी छ । रोबोटिक्स र अन्य आधुनिक प्रविधिमा व्यापक लगानी छ । प्रविधि नवप्रवर्तन र दीर्घकालीन प्रविधि विकासमा कोरियाली लगानी र भित्र्याउन सकिएमा नेपालको समृद्धिमा ठूलो योगदान पुग्नेछ ।
अन्त्यमा, राजदूतले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले पदमा रहँदा नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ । राजदूतको सफलता त्यस देशको सरकार, नागरिक समाज र प्रवुद्ध वर्गसँग गरिने अन्तक्र्रियामा समेत निर्भर रहने गर्दछ । दक्षिण कोरियामा नेपालप्रतिको चासो वृद्धि गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता रहेको छ ।
(प्रस्तुत विचार दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा तुम्बाहाम्फेसँग गरिएको कुराकानीमा आधारित) –रासस