काठमाडौं । गत सोमबार बिहान खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण भक्तपुरको बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिए । कुलप्रसाद र प्रवीण मृत अवस्थामा भेटिँदा सँगै बस्ने जेठा छोरा मिलन भने फरार थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद र प्रवीणको हत्या शनिवार राति नै भएको थियो । तर, उनीहरूको हत्या शव सोमबार बिहान मात्रै भेटिएको थियो ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गराएको थियो । तर, उनीसँग सवारी चालक अनुमति पत्र भने थिएन ।
त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए ।
बुबा र भाइको हत्या मिलनले नै गरेको पाइएको छ । उनले मङ्गलबार काठमाडौँ महाराजगञ्जमा पुगेर आत्मसमर्पण गरेका थिए । उनले प्रहरी समक्ष बुबा र भाइको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् ।
मिलनले किन गरे बुबा र भाइको हत्या ?
२०७४ सालदेखि काठमाडौंमा बस्दै आएका मिलन जागिर खान नसकेकोमा तनावमा थिए । सात पटक लोकसेवा आयोगको परीक्षा दिँदा पनि उनले नाम निकाल्न सकेनन् । उनले ६ पटक नासु र एक पटक अधिकृतको परीक्षा दिएका थिए ।
कुलप्रसादको सपना पनि जेठा छोरा मिलनलाई निजामती कर्मचारी बनाउने थियो । तर, जति गर्दा पनि उनको प्रयास अधुरै रह्यो । जागिर खान नसकेपछि ‘गाउँ–समाजले कुरा काटेको’ भन्दै कुलप्रसादले मिलनलाई सम्झाउने गर्थे ।
शनिवार बेलुका खाना खाँदा पनि कुलप्रसादले मिलनलाई सम्झाए– ‘बिहे गर्ने बेला पनि भयो तर कतै सेटल हुन सकिनस् । अब त तेरो उमेर पनि गयो । गाउँसमाजले पनि कुरा काट्न थालिसके ।’
खाना खाइसकेपछि कुलप्रसाद र मिलन एउटा कोठामा सुत्न गए । कुलप्रसाद खाटमा सुते भने मिलन भुईमा । प्रविण भने भान्छा कोठाको खाटमा सुते ।
मिलनले प्रहरीलाई दिएको बयान अनुसार सुत्ने बेलामा बुवाले भनेको शब्दले उनी निदाउन सकेनन् । छोरालाई अर्ती दिएर ओछ्यानमा ढल्केका कुलप्रसाद भने निदाए ।
रातभर निदाउन नसेकेका मिलन छटपटिइरहेका थिए । उनलाई लाग्यो– केही गर्न सकिनँ, मेरो कारणले बुवा–आमालाई तनाव र दुःख भयो । भक्तपुर प्रहरीको हिरासतमा रहेका मिलनले प्रहरीसमक्ष भनेका छन्– ‘सबैलाई तनाव दिएर बाँच्नुभन्दा नबाँचेकै राम्रो भन्ने सोच आयो । अनि यो घटना हुन पुग्यो ।’
मिलनले आइतबार बिहानीपख कोठामा रहेको डम्बेलले खाटमा निदाइरहेका बुवाको टाउकामा प्रहार गरे । बुवाले कुनै प्रतिकार गर्ने मौका पाएनन् । त्यसपछि भान्छामा सुतिरहेका भाइ प्रवीणलाई सिलौटाले टाउकामा उसैगरी ४÷५ पटक प्रहार गरे । भाइ कुलतमा फस्न थालेको र अल्छे भएकाले गरिखाँदैन दुःखै दिन्छ भन्ने लागेर भाइको पनि हत्या गरेको मिलनले प्रहरीलाई बताएका छन् ।
बुवा र भाइको हत्या गरेपछि दुवै ढोकामा बाहिरबाट ताला लगाएर उनी बाहिरिएका थिए ।
बुवा र भाइको हत्या गरिसेकपछि उनले आत्महत्याको प्रयास गरेका थिए । गलाको गलबन्दीको पासो लगाएर रुखमा झुन्डिए । तर रुखमा बाँधेको पासो खुस्किएपछि उनको प्रयास असफल भयो । त्यसपछि आत्महत्याको प्रयास गरेनन् । मिलनको घाँटीमा पासोको डाम समेत रहेकाले प्रहरीको भनाइ ।
आइतबार दिनभर उनी भक्तपुर क्षेत्रमै रहे । राति भने उनी चाबहिलस्थित एक गेस्टहाउसमा बसे । सोमबार पनि उनी त्यहीँ बसे । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भए ।
कुनै योजनाबद्ध रूपमा हत्या गर्ने भनेर हत्या गरिएको भन्दा पनि एकैछिनको मानसिक तनावले घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
शोकाकुल आचार्य परिवार
बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घट्नापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै हाेइनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबारदेखि नै शोकाकुल बनेका छन् ।
मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबु–छोराको एकै पटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।
घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्न सक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त ।
बुबा र दुई भाइ छोराले शनिवार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घटना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।
शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकस्मात् भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् ।
मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँशु रोकिएको छैन । ‘मरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या ग¥यो भनेर मैले कसरी पत्याउनु, मरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।’ भन्दै भावविह्ल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था छैन । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई सम्हाल्न सकस परेको छ ।
परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्ययनका लागि जाने तयारी गरेको बताए ।
मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् ।
शिक्षिकाबाट अवकाश प्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय भएको नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरूको भविष्य बनाउने विषयमा दाजु भाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउँछन् ।
घटना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिवार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घटना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।
पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।
प्रहरी बृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पुगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाव बढेकाले दुवै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।