Logo
Logo

परराष्ट्रमन्त्रीको अल्लारे कूटनीति


डा. दीपेश केसी

4.7k
Shares

डा. आरजु राणालाई नेपालको वर्तमान परराष्ट्रमन्त्री भन्दा पनि भावी प्रधानमन्त्रीको धर्मपत्नीका रुपमा बढी हेरिएको छ । कतिपयका लागि उनी भावी प्रधानमन्त्री नै हुन् । आरजुले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा बढी महत्त्व पाउनुको कारण पनि यही हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्रीको सहमति भएकाले पनि आरजु झन् शक्तिशाली बन्ने आकलन छ । तर, नेपाली काँग्रेसको देउवा समूहकै प्रभावशाली नेताहरू आरजुलाई देउवाले प्रधानमन्त्रीका लागि अगाडि बढाउने त होइनन् भनेर सतर्क बनेका छन् । भुईँमान्छेहरुसँग जोडिएर लामो राजनीतिक संघर्ष गरेर प्रधानमन्त्रीको सपना देखेकाहरूका लागि आरजुको उडानबाट प्रधानमन्त्रीको कुर्सीमा पुग्ने प्रयास पाच्य भइरहेको छैन ।

आरजुको पछिल्लो राजनीतिक छलाङ र सक्रियता पनि त्यही दिशातर्फको महत्त्वाकाङ्क्षी यात्रा हो । त्यसमाथि ओलीले त देशले चाँडै महिला प्रधानमन्त्री पाउने भनिदिए । राष्ट्रपतिदेखि प्रथम मुख्यसचिव पनि ओलीले बनाएको भनिरहेका छन् । ओलीसँग देउवाको बालकोटमा सहमति गराएकी आरजु यसकारण पनि प्रथम महिला प्रधानमन्त्री बन्ने आशाका साथ हौसिएकी छिन् ।

राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गरेको देखेकी आरजुले अन्तर्राष्ट्रिय परिस्थिति पनि आफू अनुकूल बनेको ठानेकी छिन् । एनजीओ आइएनजीओमा आवद्ध भई डलरको खेतीमा निपूर्ण आरजुले पश्चिमा जगत्को विश्वास जितेकी नै छिन् । चीनसँग बिआरआई फ्रेमवर्कमा सम्झौता गराउन मुख्य भूमिका खेलेर उत्तरलाई पनि आश्वस्त पारिन् ।

परराष्ट्रमन्त्री भएलगत्तै भारतको भ्रमण गरेर न्यानो स्वागत र सम्मान पाएर झन् हौसिइन् । केही दिनको अन्तरालमा दुई पटक चीन भ्रमण गरेर बिआरआई सम्झौता गराएपछि आरजुलाई चतुर कूटनीतिक क्षमता भएको भनी हजार जिब्रो भएका शेष नागहरूले बोले र सामाजिक सञ्जालहरू रँग्याए । त्यसपछि उत्साही बनेकी उनी यूरोप भ्रमणमा गएर सेमिनार सम्मेलनमा सहभागी भई नयाँदिल्ली पुगिन् । जब उनी विना बोलाइएको पाहुना बनेर भारत पुगिन् तब आफू कहाँसम्म झरिसकेको छु भन्ने बल्ल पत्तो पाइन् ।

परराष्ट्रमन्त्री भएलगत्तै पहिलो विदेश गन्तव्य भारतलाई बनाउँदा वेटिङ प्रधानमन्त्रीको धर्मपत्नी समेत रहेकाले उनको विशेष स्वागत र सम्मान भएको थियो । पुटिन र ट्रम्पले बारम्बार निकट मित्र भनिरहेका विश्वका शक्तिशाली नेतामध्येका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको मौका पाइन् । त्यो भेटमा त्यहाँका विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल देखि विदेश सचिव विक्रम मिश्रीसमेत सहभागी थिए ।

नेपालका परराष्ट्रमन्त्रीले विरलै पाएको यस्तो भेटबाट हौसिएकी आरजुले स्वदेश फर्किएपछि दिल्लीमा आफूलाई दिइएको स्वागत नेपाललाई दिइएको भनिन् । आरजुको विगतमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँगको ‘राखी कूटनीति’ पनि निकै चर्चामा आएको थियो । नेपालको राजनीतिमा चासो राख्ने क्षेत्रीय शक्ति भारतका उच्च तहका नेतासँग सिधा भेट गर्न सक्ने आरजुको खूबीको बखान धेरै भए ।

परराष्ट्रमन्त्री बनेपछि आरजुको विदेश भ्रमण धेरै हुनु सामान्य नै मानियो । विगतमा एनजीओकर्मी भएर विदेश दौडाहाको आनीबानी छँदै थियो । तर, परराष्ट्रमन्त्री भएपछि पनि उनको शैली फेरिएन । देशको परराष्ट्रमन्त्री र शक्तिका दृष्टिले सरकारमा ओलीपछि दोस्रो । तर, उनी एनजीओकर्मीको शैलीमा सेमिनार र सम्मेलन भन्दै विदेश दौडाहामा गइरहिन् ।

उनको दौडाहा र विदेशी मञ्चमा भाषणले राज्यले के पायो ? त्यसको कुनै तुकसंगत उत्तर आएको छैन । उनको विदेश ओहोरदोहोर विगतका परराष्ट्रमन्त्रीहरुको भन्दा बढी नै भइरह्यो । उपचार र सेमिनारको बहानामा राजनीतिक भेटका लागि दिल्ली पुगिन् गत हप्ता ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागतका लागि भारतको विदेश मन्त्रालयका उपसचिव स्तरका कर्मचारी पुगे । दिल्लीस्थित नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पुग्ने नै भए । चार दिनको बसाइँसम्म उनी दिल्लीमा एक प्रकारको बेवास्तामा परिन् । विना बोलाइएको पाहुना न परिन् ।

यसमा उनको अल्लारे कूटनीति देखियो । परराष्ट्रमन्त्री नहुँदाकै शैलीमा दिल्ली ओहोरदोहोर गर्ने उनी फेरि त्यही लयमा फर्किएको बुझ्न सकिन्छ । विदेश ओहोरदोहोरको लागेको बानीले परराष्ट्रमन्त्रीको ओहदा समेत बिर्सिन पुगिन् ।

आरजु मंसिरमा चीन दुईपटक पुगिन् । पहिलोपटक पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी भनियो । वास्तवमा, बिआरआईबारे चीनसँग कुरा गर्न पुगेकी थिइन् । उनले काठमाडौं फर्किए लगत्तै बिआरआई ऋणमा नलिने अडान कायमै रहेको दोहोराइन् । तर, जब ओलीसँग भ्रमण दलमा सहभागी भइन् तब बिआरआई ऋणमा होइन भन्ने देखिएन ।

कांग्रेसले ऋणमा बिआरआई सम्झौता नगर्ने भनेकोमा ऋण या अनुदान स्पष्ट नगरी बिआरआई फ्रेमवर्कमै सम्झौता भयो । यसको अर्थ बिआरआई ऋण र अनुदान दुवै समेटेर हुने स्पष्ट छ ।

विगतमा चीनसँग ६ वटा विमान खरिद गर्दा केही अनुदान र केही पैसा तिरेर लिएजस्तै । ओलीले त ऋण लिएर घिउ खाँदैनौ भनिसकेका छन् । आरजुले बिआरआई सम्झौता गराउन भूमिका खेलेकोमा कूटनीतिक चार्तुयता भएको भनी विश्लेषण समेत भए । कतिपयले हल्का रुपमा लिदै आरजुको वाही वाही गरे ।

तर, पछिल्लो दिल्ली दौडमा आरजुको कथित कूटनीतिक चार्तुयता यथार्थमा कूटनीतिक अल्लारेपनमा परिणत भइसकेको छ । भारतीय अधिकारीहरुसँग भेटका लागि छटपटिनुपर्ने अवस्था बनेको छ । इज्जत बचाउन केही समय धर्ना कसेर हुन्छ या विश्वासपात्रहरुमार्फत् कसै न कसैलाई भएपनि भेटेर आउने प्रयास देखियो ।

आरजु दिल्ली नपुग्दै ओलीका विश्वासपात्रहरूले पौषभित्रै ओलीको भारत भ्रमण हुने ठोकुवा गरिरहेका थिए । तर, भारतले ओलीलाई कुनै भाउ नदिइरहेको घटनाक्रमले देखाइसकेको छ । दिल्लीमा एमाले उपमहासचिव समेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि पुगे । उनी ओलीको अघोषित दूतका रुपमा पुगेको देखिन्छ । भारतसँग सम्बन्ध सुमधुर बनाउने र चाँडै भ्रमणको वातावरण तयार गर्ने प्रयास ज्ञवालीबाट भएपनि निरर्थक साबित भइसकेको छ ।

यी घटनाक्रमले सरकार परिवर्तनका हल्ला पनि बजारमा खुबै पिटिएका छन् । ओली स्वयं आत्तिएको उनका अभिव्यक्तिले देखाउँछ । ओलीको चाइना कार्ड र भारतकार्डको रणनीति काम लाग्दैन भन्ने भारत र चीनका उच्चअधिकारीहरुको बाक्लिएको भेटले पनि प्रस्ट पारिसकेको छ ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ ई र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको गत हप्ता महत्त्वपूर्ण भेट भइसकेको छ । ब्रिक्स सम्मेलनको दौरान रुसको काजानमा मोदी र सी चिनफिङको हातेमालो पाँच वर्ष पछिको आइसब्रेक थियो ।

समस्याहरूलाई कन्तुरमा बन्द गरेर व्यापारलाई निरन्तरता दिइरहेछन् भारत र चीन । बलिया देशहरू जतिसुकै विवाद गरेपनि निश्चित राष्ट्रिय स्वार्थले मिल्न पुग्छन् भन्ने उदाहरण हो यो । उनीहरू लडेपनि आफै लड्दैनन् छद्म युद्ध लड्छन् साना देशहरूभित्र । यो यथार्थ भुलेर बलिया देशलाई कूटनीतिक चार्तुयताले झुक्याउँछु भन्नु आफै झुक्किनु हो । यस्ता कूटनीतिले देशलाई नोक्सानीमै पार्छ ।

भारत र चीनबीचको द्वन्द्वको फाइदा उठाएर तेस्रो शक्तिले खेल्दा श्रीलंका, पाकिस्तान हुँदै बङ्गलादेशमा राजनीतिक अस्थिरता मात्र भएन अर्थतन्त्र डामाडोल छ । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरिरहेको बङ्गलादेश लोडसेडिङले आक्रान्त छ । गृहयुद्धको खतरामा परेको छ ।

नेपालमा पनि भारत र चीनो टकरावमा खेल्ने शक्ति जब जब हाबी हुन्छ तब तब देश अस्थिरता र अराजकतातर्फ बढ्छ । नेपालमा डँडेलो लागेमा भारत र चीनमा नकारात्मक असर पर्छ । अन्य शक्तिले त आफ्नो स्वार्थका लागि डढेलो पनि लगाइदिन्छन् ।

दक्षिण एसियामा कहिले युद्धमा शान्ति र शान्तिमा युद्धको राजनीतिक र व्यापार गर्नेहरू संगठित गिरोहका शैलीमा पलत पोषित छन् । तिनको भूमिका यो क्षेत्रको हितमा कहिले पनि थिएन र हुनेपनि छैन ।

त्यसैले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनको बीचमा रहेको नेपालका नेताले यी दुई देशको बेमेल र द्वन्द्वमा लाभ लिन खोज्नु अपरिपक्वता हो । कहिले भारतलाई चिढ्याउन र कहिले चीनलाई चिढ्याउने कार्ड नेपालका लागि खतरनाक हो । नेपाल र नेपालीको हित चाहने नेता भनेको बलिया दुई छिमेकीको मेलमिलाप र हातेमालोबाटै लाभ लिन सक्ने खुबीको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्