Logo
Logo

ट्रम्प कार्यकालको पहिलो दिनमै डब्ल्यूएचओ छोड्दै अमेरिका


3.9k
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) छोड्ने तयारी गरेका छन्। अमेरिकी स्वास्थ्य कानून विशेषज्ञका अनुसार ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर निकाल्ने तयारी गरेका छन्।

वासिङटनस्थित जर्जटाउन विश्वविद्यालयमा अन्ताराष्ट्रिय स्वास्थ्यका प्राध्यापक एवं राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्वास्थ्य कानूनमा डब्ल्यूएचओ सहयोग केन्द्रका निर्देशक लरेन्स गोस्टिनले भने‚ ‘उच्च स्रोतका अनुसार राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो दिन नै डब्ल्यूएचओबाट बाहिर निस्कने योजना बनाइरहेका छन्।’

फाइनान्सियल टाइम्सले दुईजना विशेषज्ञलाई उद्धृत गर्दै उक्त योजनाका बारेमा सबैभन्दा पहिला खबर सार्वजनिक गरेको हो। संयुक्त राष्ट्रसंघको स्वास्थ्य संस्था डब्ल्यूएचओका बारेमा ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएका छन्। अमेरिका डब्ल्यूएचओबाट बाहिर निस्किएमा अन्ताराष्ट्रिय स्वास्थ्य नीतिमा निकै परिवर्तन हुनेछ। महामारीसँग लड्ने अन्ताराष्ट्रिय प्रयासबाट अमेरिका अलग हुनेछ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनका प्रखर आलोचकलाई स्वास्थ्य सेवाका उच्च पदमा नियुक्त गरेका छन्। ती पदाधिकारीमा रबर्ट एफ. केनेडी जुनियर पनि छन्। केनेडीले त कोभिड-१९ को खोपप्रति नै आशंका व्यक्त गरेका थिए। ट्रम्पले तिनै केनेडीलाई अमेरिकी स्वास्थ्यमन्त्री मनोनयन गरेका छन्।

विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा बढी आर्थिक सहयोग अमेरिकाले गर्दै आएको छ। डब्ल्यूएचओको १६ प्रतिशत खर्च अमेरिकाले एक्लै व्यहोर्दै आएको छ।

ट्रम्पले सन् २०२० मा आफ्नो राष्ट्रपतिको पहिलो कार्यकालको अन्तिम समयतिर अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट बाहिर निकालेका थिए। यसको ६ महिनापछि राष्ट्रपति बनेका जो बाइडनले फेरि विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई समावेश गरेका थिए। ट्रम्पको कदमप्रति विश्व स्वास्थ्य संगठनका प्रवक्तालाई प्रश्न गर्दा उनले कुनै टिप्पणी गर्न मानेनन्।

प्रतिक्रिया दिनुहोस्